Skip to content

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामग्री बरामद

nabil bank

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले शुक्रबार र शनिबार भन्सार छली गरेर ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ ।

सिरहा नगरपालिका–२१ लगडिगदियानीस्थित नं ७ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक विष्णुप्रसाद गौतमको कमान्डमा खटिएको १० जनाको गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारतीय नं प्लेटका चारवटा मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको ८९ हजार ६०० रुपैयाँ मूल्य बराबरको ३२० किलो स्याउ र चार लाख रुपैयाँ मूल्य बराबरको चार थान मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शुक्रबार सिरहा–२० स्थित नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनको कमान्डमा खटिएको चार जनाको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको एक लाख ६९ हजार ८०० रुपैयाँ मूल्य बराबरको कपडा र सुनचाँदी राख्ने बट्टा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार सिरहा–१७ स्थित माडर बसपार्क नजिक प्रसीसु गुल्म माडरबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुडामणि काफ्लेको कमान्डमा खटिएको टोलीले ३६ हजार १५० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।

शुक्रबार औरही गाउँपालिका–३ कडहर्वा खण्डमा सशस्त्र प्रहरीको बिओपी बरियारपट्टिबाट सशस्त्र प्रहरी निरीक्षक शङ्करबहादुर थापाको कमान्डमा खटिएको टोलीले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको ५३ हजार २२० रुपैयाँ मूल्य बराबरको भाँडावर्तनहरू बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए । उनका अनुसार बरामद गरिएका सबै सामग्री भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु भएको छ ।

यसैबीच, गत मंगलबार यहाँको सशस्त्र प्रहरी बल, नेपाल नं ७ गणको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमा क्षेत्रमा हुने अवैध सामग्री ओसारपसार नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime