काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बहुदलीय व्यवस्थापछि भ्रष्टाचार मुद्दामा तानिने अहिलेसम्मकै उच्चपदस्थ व्यक्ति बनेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काभ्रेको जग्गा पतञ्जलीलाई हदबन्दी छुट दिएर पुनः प्लटिङ तथा बेचबिखनका लागि अनुमति दिँदा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध मुद्दा चलाएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका नेपाल उच्च पदमा पुगेर भ्रष्टाचार मुद्दा लाग्ने पहिलो व्यक्ति बनेका हुन् । यसअघि, ललिता निवास जग्गा प्रकरणमा पनि निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाएर कारबाही अघि बढाउनुपर्ने माग गरिएको रिट सर्वोच्चमा विचाराधीन छ ।
यसअघि, ०३५ सालमा पूर्वप्रधानमन्त्री तुल्सी गिरीविरुद्ध पनि गलैंचा निर्यात काण्डमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । पछि उनले ०३७ सालमा सफाइ पाएका थिए । नेपाललाई १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीसँगै ९३ जनालाई प्रतिवादी बनाइएको छ ।
त्यतिबेला मन्त्रिपरिषद्का निर्णय नीतिगत हुने भन्दै ललिता निवास प्रकरणमा मुद्दा नचलाइएको अख्तियारले प्रधानमन्त्रीकै हैसियतमा गरेको काममा अहिले मुद्दा चलाएको हो ।






प्रतिक्रिया दिनुहोस्