Skip to content

११ वर्षपछि डाँडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी । मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

मालिका –३ का वडाध्यक्ष मोतीप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ ।

भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले १ करोड ५९ लाख ८३ हजार ७ सय ७२ रुपैयाँको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८२ मा फरक–फरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए। चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो ।

भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर (प्रसूतिगृह) भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताए । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi