Skip to content

अख्तियारद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका लागि सौर्यबत्ती जडानका लागि आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । विनियोजन भएको बजेटविपरीत खम्बा, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानसमेतका लागि बद्नियत राखी टुक्र्याएर पाँचवटा प्याकेज बनाइएको पाइएको छ ।

विनियोजित बजेटभन्दा बढी दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँ बराबरका लागि अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको थियो । त्यसमा तीन वटा फर्मबीचमा मात्रै प्रतिस्पर्धा गराइएको थियो ।

कार्यका लागि गाउँपालिकाले दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बराबरको रकम विभिन्न सौर्यबत्ती कम्पनीलाई भुक्तानी दिएको थियो ।

सो कार्यमा भ्रष्टाचार भएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहविरुद्ध दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै आज विशेष अदाmलतमा मुद्दा दायर गरेको हो ।

यसैगरी लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु रायविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ। यस्तै, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहाविरुद्ध ४७ लाख ४९ हजार ५६० रुपैयाँ, स्काई राइज टे«डिङ कन्सर्न मलङ्गवा सर्लाहीका सञ्चालक जयप्रकाश यादवविरुद्ध रु ५८ लाख ३९ हजार ८४० माग दाबी गरिएको छ ।

त्यस्तै, एसके स्टोर्स मलङ्गवाका सञ्चालक रञ्जुकुमारी साहविरुद्ध ९५ लाख २३ हजार ९१० रूपैयाँ र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्टचर सोलुसनका सञ्चालक सङ्गीताकुमारीविरुद्ध ९५ लाख ७६ हजार ३६० रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T