बिबिसी । यही जुन १३ मा इरानमाथि इजरायली आक्रमणपछि होर्मुज स्ट्रेट बन्द हुनसक्ने आशंका व्यक्त गरिएको थियो । यो स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । स्ट्रेट एउटा साँघुरो समुद्री पट्टी हो जुन दुई ठूला जलाशयहरू, जस्तै समुद्र वा महासागरहरूलाई आपसमा जोड्ने काम गर्छ ।
होर्मुज स्ट्रेट मध्यपूर्वका तेल भण्डार भएका देशहरूलाई एसिया, युरोप, उत्तर अमेरिकालगायत विश्वका अन्य भूभागसँग जोड्ने मुख्य जलमार्ग हो । तर यो क्षेत्र दशकौंदेखि भू–राजनीतिक तनाव र विवादको केन्द्रमा रहँदै आएको छ ।
होर्मुज स्ट्रेटको महत्व बुझ्नुअघि इजरायल र इरानबीच बढ्दो तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको तीव्र वृद्धिबारे जान्न आवश्यक छ । एसियाली बजार खुल्नासाथ ब्रेन्ट क्रुड तेलको मूल्य दुई डलरभन्दा बढी, अर्थात २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रति ब्यारेल पुगेको छ । अमेरिकी क्रुड तेलको मूल्य पनि लगभग दुई डलरले बढेर ७५.०१ डलर प्रति ब्यारेल पुगेको छ । यो वृद्धि शुक्रबार तेलको मूल्यमा आएको ७ प्रतिशतको उकालोपछि देखिएको हो ।
होर्मुज स्ट्रेट कहाँ पर्छ र किन यति महत्वपूर्ण छ ?
फारस खाडी र ओमान खाडीको बीचमा रहेको होर्मुज स्ट्रेट इरान र ओमानको समुद्री सिमानाभित्र पर्छ । यो एक साँघुरो जलमार्ग हो, जुन कतिपय स्थानमा मात्र ३३ किलोमिटर चौडाइको छ । यसको महत्व यस कुराबाट बुझ्न सकिन्छ कि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं भाग यही बाटो भएर जान्छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत र इरानबाट निर्यात हुने कच्चा तेल यही स्ट्रेटबाट अन्य देशहरूमा पुग्ने गर्छ । यसबाहेक, विश्वको सबैभन्दा ठूलो लिक्विफाइड नेचुरल ग्या निर्यातकर्ता देश कतार पनि आफ्नो निर्यातका लागि यही जलमार्गमा भर पर्छ ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धको क्रममा दुवै देशहरूले यही जलमार्गमार्फत एक–अर्काको तेल आपूर्ति रोक्ने प्रयास गरेका थिए । सो संघर्षमा व्यापारीक ट्यांकरहरूमा आक्रमण गरियो, जसका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पर्यो । इतिहासमा यस घटनालाई ट्यांकर युद्ध पनि भनेर चिनिन्छ ।
होर्मुज स्ट्रेट बन्द भए के हुन्छ ?
यदि इरानले होर्मुज स्ट्रेट बन्द ग¥यो भने, विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत प्रभावित हुनसक्ने अनुमान गरिन्छ । जुन महिनामा अन्तर्राष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले यस्तो अवस्थामा कच्चा तेलको मूल्य १२० देखि १३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएको थियो ।
बिबिसी टर्कीसँगको कुराकानीमा प्राडा अकत लैंगरले भने, “होर्मुज स्ट्रेट बन्द हुनसक्ने आशंकामात्रले नै बजारमा तेलको मूल्यमा असर देखिन थालेको छ ।” उनका अनुसार, बजारले यस जोखिमलाई पहिल्यै ध्यानमा राख्दै प्रतिक्रिया दिइरहेको छ, र स्ट्रेट बन्द भए आपूर्ति रोकिएर मूल्य अझै उकालो जान सक्ने पक्कापक्की छ ।
यद्यपि, इजरायली हमलापछि इरानले भनेको छ कि यसको तेल आपूर्तिमा कुनै असर परेको छैन । इरानी तेल मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणहरुमा तेल भण्डारण केन्द्र वा रिफाइनरीहरूलाई निशाना बनाइएको थिएन । तर विश्लेषकहरू बुझाइमा यदि तनाव झन चर्कियो भने भविष्यमा यी पूर्वाधारमा आक्रमण सम्भव हुने अवस्था छ । जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर झट्का पु¥याउन सक्छ ।
पुराना विवाद
होर्मुज स्ट्रेट अघिल्लो समयहरूमा पनि इरान र अमेरिका बीचको विवादको केन्द्रमा रहँदै आएको छ । सन् १९८८ मा अमेरिकी लडाकु विमानले एक इरानी यात्रुबाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो । अमेरिकाका अनुसार त्यो एक ‘सैनिक त्रुटि’ थियो र जहाजलाई लडाकु विमान सम्झिएर खसालिएको थियो । तर इरानले यसलाई ‘पूर्व–योजना अनुसारको आक्रमण’ भनेको थियो ।
अमेरिकाले यो पनि दाबी गर्दै आएको छ कि उसका युद्धपोतहरू यस क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षा गर्नका लागि तैनाथ छन्, जसलाई सम्भवतः इरानी नौसेनाले निशाना बनाउन सक्छ ।
सन् २००८ मा अमेरिकाले इरानी डुंगाहरूले उसका तीन युद्धपोतहरूको नजिक पुग्ने प्रयास गरेको बताएको थियो । त्यसको जवाफमा इरानी रिवोल्युसनरी गाड्र्सका तत्कालीन कमाण्डर–इन–चीफ मोहम्मद अलजाफरीले चेतावनी दिएका थिए कि यदि आक्रमण भयो भने उनीहरूले अमेरिकी जहाज कब्जा गर्नेछन् ।
सन् २०१० मा यही स्ट्रेटमा जापानी तेल ट्यांकरमा हमला भएको थियो, जसको जिम्मा अल–कायदा सम्बद्ध समूहले लिएको थियो । सन् २०१२ मा अमेरिका र युरोपले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि तेहरानले होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो । इरानले ती प्रतिबन्धहरूलाई आफ्नो तेल निर्यातबाट प्राप्त विदेशी मुद्राबाट वञ्चित गर्ने षड्यन्त्र भनेको थियो ।
सन् २०१८ मा अमेरिकाले इरानी तेल निर्यातलाई ‘शून्य’ बनाउने नीति लिएको बेला तत्कालीन इरानी राष्ट्रपति हसन रूहानीले संकेत दिएका थिए कि इरानले यही स्ट्रेटमार्फत हुने तेल आपूर्तिमा अवरोध पु¥याउन सक्छ । त्यही बेला इरानी रिवोल्युसनरी गाड्र्सका एक कमाण्डरले पनि चेतावनी दिएका थिए कि यदि इरानको तेल निर्यात रोकियो भने उनीहरूले होर्मुज स्ट्रेटमार्फत हुने सबै तेल आवागमन पूर्ण रूपमा रोक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्