काठमाडौं । नेपाल राष्ट्र बैंकले पटक–पटक खुला नीति लिँदा पनि सेयर बजारमा भने उत्साह देखिएको छैन । राष्ट्र बैंकले लिने कतिपय नीतिले सेयर बजारमा प्रभाव पार्ने गरेको छ । तर, राष्ट्र बैंकले बजार मैत्री नीति लिँदा पनि कुनै प्रभाव देखिएको छैन । बजारको पक्षमा केन्द्रिय बैंक भएपनि बजार भने सुस्त नै छ ।
नेपाल राष्ट्र बैंकमा गभर्नरको रुपमा डा.विश्वनाथ पौडेल नियुक्त भएपछि सेयर बजार बढ्ने लगानीकर्ताहरुको विश्वास थियो । डा. पौडेल गभर्नर नियुक्त भएपछि उनले बजार मैत्री नीति लिने र सेयर बजारले लय समाउने लगानीकर्ताको विश्वास थियो ।
लगानीकर्ताको अपेक्षाअनुसार गभर्नर पौडेलले सेयर बजार मैत्री नीति लिए पनि । तर, बजारले भने विश्वास देखाएको छैन । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिगत व्यवस्थालाई पौडेल खुकुलो गर्दै लगेका छन् । तै पनि बजारमा त्यसको प्रभाव देखिएको छैन ।
‘नेपाल राष्ट्र बैंकले पटक–पटक खुकुलो नीति लिँदा पनि सेयर बजार बढ्न नसक्नुको एउटा कारण आर्थिक वर्षको अन्तिम महिना चलिरहेको भएर पनि हो’ नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट भन्छन्, ‘आर्थिक वर्षको अन्तिम महिना भएका कारण बजारमा चहलपहल सुस्त देखिएको छ । जसको असर सेयर बजारमा पनि देखिएको छ ।’
असार मसान्तमा लगानीकर्तालाई बैंकको साँवा ब्याज तिर्नुपर्ने चटारो हुने भएका कारण सेयर बजारमा सुस्तता देखिएको उनको बुझाई छ । पछिल्लो केही समय यता अर्थतन्त्रमा देखिएको सुस्ताको कारण पनि सेयर बजारमा खासै उत्साह नदेखिएको सेयर बजारका लगानीकर्ता ताराप्रसाद फुल्लेल बताउँछन् ।
फुल्लेलका अनुसार अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । यसैगरी, यता सूचीकृत कम्पनीहरुको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने मिति पनि नजिकिँदै गएको छ । जसको कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनको बुझाई छ ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर लगानीकर्तालाई लगायको १५ करोडको क्याप पनि हटाउने लगानीकर्ताको अपेक्षा छ । ‘राष्ट्र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत व्यक्तिगत पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताको लागि १५ करोडको सीमा निर्धारण गरेको छ ।’ नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘राष्ट्र बैंकले त्यो व्यवस्था पनि हटाउनुपर्छ ।’ व्यक्तिगत रूपमा लिइने कर्जामा १५ करोडसम्मको सीमाले पनि सेयर बजारका लगानीकर्ता हत्तोत्साहित भएको रौनियारको बुझाइ छ ।
सेयर बजारका लगानीकर्ताले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउनको लागि सहज खालको नियमको व्यवस्था गर्न माग गरेका थिए । सोहीअनुसार राष्ट्र बैंकका गभर्नर डा. पौडेलले असार ५ गते विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरी थप खुुकुलो व्यवस्था गरेका छन्। यस संशोधनपश्चात अब एनआरएनले नेपाली बैंकमा नेपाली रुपैयाँमा खाता खोल्न पाउने व्यवस्था गरिएको छ । यसले एनआरएनहरुरलाई सेयर कारोबार गर्न सहज हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यो व्यवस्थाले पनि सेयर बजारमा उत्साह आउने विश्वास गरिएको थियो ।
राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न थोरै समय बाँकी रहँदा नै सेयर बजारलगायत क्षेत्रमा लगानीकर्ताले राख्दै आएको माग पूरा गरेका छन् । लगानीकर्ताले दुई वर्ष अघिदेखि राख्दै आएको माग एकै पटक सम्बोधन गरेका हुन् ।
गभर्नर डा. पौडेल नियुक्ति भएको केही दिनमा नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर बजारका लगानीकर्तालाई खुशी बनाउने नीति लिए । डा. पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा लाग्दै आएको १२५ प्रतिशत जोखिम भारलाई घटाएर १०० प्रतिशत बनाए ।
नवनियुक्त गभर्नर डा. पौडेलले लिएको त्यो नीतिले धेरैलाई उत्साहित बनाउने र सेयर बजारमा बढ्ने अपेक्षा थियो । लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए । यो हट्दा बजारले लय लिन्छ भन्ने विश्वास थियो । तर, सेयर बजारमा सुस्त नै देखियो ।
गभर्नर डा. पौडेलले सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका व्यवसायीलाई उक्त रकम फिर्ता गर्न २ वर्षसम्म समय थप गरेका छन् । यसले बैंकरलाई मात्रै नभएर व्यवसायीलाई समेत खुसी बनाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन जारी गर्दै बैंकर र व्यवसायीलाई राहत दिने, लगानीकर्तालाई खुसी बनाउने काम गरे ।
निवर्तमान गभर्नर अधिकारीले सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका व्यवसायीले २०८१ असार मसान्तभित्र पैसा तिरिसक्नुपर्ने व्यवस्था गरेका थिए । निजी क्षेत्रको विरोधपछि अधिकारीले त्यो समय १ वर्ष थपेका थिए । अहिले पौडेलले २ वर्ष थपेका छन् । गभर्नर पौडेलले गरेको यो व्यवस्थाले पनि सेयर बजार लगायत नीजि क्षेत्रमा सहज हुने अपेक्षा छ ।
केही दिनदेखि नेप्से सूचक २६ सय विन्दुको आसपासमा रहेर कारोबार भइरहेको छ । सेयर बजार मापक नेप्से सूचकसँगै सेयर कारोबार रकममा पनि सुस्तता देखिएको छ । अघिल्लो हप्ता १२ अर्ब रुपैयाँसम्मको कारोबार भएको सेयर बजारमा यस हप्ता १० अर्ब रुपैयाँभन्दा कमको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
गर्भनर नियुक्त भए देखि अहिलेसम्म सेयर बजार ८१.७१ अंकले घटेको छ । गभर्नरमा विश्व पौडेल नियुक्त भएको दिन (जेठ ६ गते) सेयर बजार मापक नेप्से सूचक २६७७.४५ अंकमा भएको सेयर बजार असार १२ गतेसम्म आउँदा ८१.७१ अंकले घटेर २५९५.७४ अंकमा झरेको छ ।






प्रतिक्रिया दिनुहोस्