एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेजको विवाह समारोहले इटालीको ऐतिहासिक सहर भेनिसलाई वैश्विक चर्चामा ल्याएको छ ।
करिब एक हप्तासम्म चलेको यस भव्य समारोहमा संसारका अति धनाढ्य, चर्चित कलाकार, व्यवसायी र राजनीतिक हस्तीहरूको उपस्थितिले भेनिसको वातारण विलासिताले भरिएको देखिएको थियो ।
स्रोतहरूका अनुसार, विवाहमा आमन्त्रित करिब २०० पाहुनाहरूको संयुक्त सम्पत्ति ४३५ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको अनुमान गरिएको छ । यस सम्पत्तिको प्रमुख हिस्सा स्वमं जेफ बेजोसको नाममा रहेको छ । ब्लूमबर्गको बिलियनियर सूचकांकअनुसार बेजोसको कुल सम्पत्ति २४४ अर्ब डलर छ । उनी हाल विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति हुन् ।
बेजोसका विवाह समारोहमा सहभागी भएका अर्को धनाढ्य पाहुना थिए माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, जसको सम्पत्ति १७८ अर्ब डलर रहेको छ । यद्यपि विश्वका दुई शीर्ष धनी एलन मस्क (३६७ अर्ब) र मेटाका मार्क जुकरबर्ग (२५८ अर्ब) भने समारोहमा देखिएनन् । गेट्स भने यस्तो उच्चस्तरीय विवाहमा उपस्थित एकमात्र व्यक्ति थिए, जो ब्लूमबर्गको शीर्ष ५०० धनाढ्यको सूचीमा पर्छन् ।
विवाहमा आमन्त्रित अन्य चर्चित नामहरूमा सञ्चारकर्मी ओप्रा विन्फ्रे, मिडिया व्यवसायी ब्यारी डिलर, ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान, र रियलिटी स्टार तथा व्यवसायी किम कार्दशियन परेका छन् । किम, जसको सम्पत्ति १.७ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ । आफ्नी आमासहित बहिनीहरू ख्लोइ, काइली र केन्डल जेनरसँग समारोहमा सहभागी भएकी थिइन् । काइली जेनर सन् २०१९ मा अर्बपति बन्न सफल भएकी थिइन् ।
साम अल्टम्यान, जसको हालै मात्र ओपनएआईमा गरिएको लगानीले कम्पनीको मूल्यांकन ३०० अर्ब डलरमा पु¥याएको छ, उनी पनि भेनिसको कार्यक्रममै उपस्थित थिए । साथै, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर र छोरी इभांका ट्रम्प पनि पाहुनाका रूपमा भेनिस आएका थिए। कुशनरको लगानी कम्पनी ‘अफिनिटी पार्टनर्स’को सम्पत्ति ४.८ अर्ब डलर पुगेको बताइएको छ ।
विवाहमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो, चर्चित गायक अशर, पूर्व एनएफएल सुपरस्टार टम ब्र्याडी, मोडल कार्ली क्लोस, पत्रकार गेयल किङ, र अभिनेता अर्लान्डो ब्लुमजस्ता चर्चित अनुहारहरूको उपस्थिति पनि देखिएको थियो। समारोहमा सहभागी अधिकांश सेलिब्रेटीहरू निजी विमान, हेलिकप्टर र याटमार्फत भेनिस आइपुगेका थिए र त्यसपछि वाटर ट्याक्सीमार्फत विभिन्न स्थलमा सरेका थिए ।
विवाहका क्रममा डोल्से एन्ड गब्बाना, वर्साचे, स्टेला म्याकार्टनी, बलेंसीआगा र स्चियापारेली जस्ता फेसन ब्रान्डहरूद्वारा डिजाइन गरिएका पोशाकमा पाहुनाहरू सजिएका थिए ।
प्रतिक्रिया दिनुहोस्