काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा सहजीकरण गर्न प्राधिकरणमा टिम तयारी अवस्थामा रहेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा बीमक, पुनर्बीमक तथा पुनर्बीमक ब्रोकरहरूसँग पुनर्बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओझाले बीमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर बन्ने बताए ।
‘बीमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुन्छ, गलत अभ्यासलाई नियन्त्रण गर्नुपर्छ, दैनिकरूपमा बीमा दाबी सम्बन्धी धेरै गुनासा आउने गरेका छन्’ उनले भने, ‘यो बीमा क्षेत्रको गम्भीर समस्या हो, बीमितले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, बीमकले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्छ ।’
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई परिपक्व बनाउँदै अगाडि बढाउनका लागि सरकार, प्राधिकरण, बीमक, लघुबीमक र पुनर्बीमक लगायत सम्बद्ध सबै मिलेर अगाडि बढौं भन्दै यसमा जिम्मेवारीपूर्वक इमान्दारिताका साथ सघाउन प्राधिकरण तयार रहेको जानकारी दिए । देशमा बीमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
अध्यक्ष ओझाले बीमा बजारको विकासका लागि प्रारम्भिक, मध्यम र उच्चस्तरको क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा कार्ययोजना बनाएर प्राधिकरणमा पेश गर्न निर्देशन दिए ।
‘पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै जानुपर्छ, पुनर्बीमा कम्पनीहरू प्रतिस्पर्धी हुनैपर्छ, हामी नीतिलाई स्थिरता दिन्छौं’ उनले भने, ‘प्राधिकरणमा एकीकृत निर्देशिका बन्नेक्रममा छ, एकीकृत निर्देशिकामा बीमकका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्छौं ।’
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्दै बीमा क्षेत्रको प्रवद्र्धन गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्