Skip to content

बर्तुङदेखि सिद्धबाबासम्म ठाउँ ठाउँमा पहिरो, उच्च सतर्कता अपनाउन आग्रह

nabil bank

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

यहाँका बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरुमा पहिरो खसकेका कारण बिहानैदेखि सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए। उनका अनुसार तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै क्षेत्र, जोडधारा र बर्तुङ नजिकैका ठाउँमा ठूला साना पहिरो खसेका छन् । पहिरो हटाउने काम भइरहेको छ ।

बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने क्रम नरोकिएको ट्राफिक प्रमुख आचार्यले बताए । उनले भने, ‘पहिरोका कारण सयौँ गाडी रोकिएका छन्, हामीले पहिरो पन्छाउँदै छिन छिनमा एकतर्फी गाडी पठाएका छौँ तर पहिरो खस्ने क्रमम नरोकिएकाले सडक पूर्ण रुपमा सञ्चालन गर्ने अवस्था छैन । अहिले फेरि पहिरो खसेकाले पूर्ण रुपमा सवारी आवागमन रोकिएको छ ।’

पहिरोका कारण सडक पुनः अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको प्रहरीले जनाएको छ । अहिले राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो । मङ्गलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

यस सडकखण्डका विभिन्न भागमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । विशेष गरी सिद्धबाबा क्षेत्र र बर्तुङ आसपासका स्थानमा खसेका ढुङ्गा तथा पहिरोका कारण सडक जोखिमपूर्ण रहेकाले सावधानीपर्वक यात्रा गर्न प्रशासनले भनेको छ ।

सडक÷राजमार्गमा पहिरो गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकाले प्रशासनले विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न समेत आग्रह गरेको छ । प्रशासनले सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पामा पर्ने सिद्धबाबा राम्दी सडक खण्ड, तानसेन–रिडी–तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर हुमिन ताँहु–आर्यभञ्ज्याङ सडकखण्ड, हार्थोक छहरा– तिनगिरे सडक खण्ड र अन्य मुख्य सहायक मार्ग तथा ग्रामीण सडकमा रातिको समयमा सवारी नचलाउन भनेको छ ।

जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो । रातको समयमा ढुङ्गा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रिकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime