Skip to content

बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा स्थानीय तहबाट असहयोग

nabil bank

काठमाडौं । बैंक, वित्तीय संस्था र लघुवित्त संस्थाहरूले कर्जा असुली प्रक्रियामा स्थानीय तहबाट असहयोग भइरहेको गुनासो गरेका छन्। यी क्षेत्रसँग सम्बन्धित संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो गुनासो गरेका हुन्।

‘बैंकहरू लिलामी प्रक्रियामा जाँदा मालपोत कार्यालयहरू लगायतले पञ्चीकृत मूल्यांकन, घरबाटो सिफारिस जस्ता विभिन्न कागजातहरू माग गर्दछन्। तर, पछिल्लो समय बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुली प्रक्रियामा जाँदा स्थानीय तहबाट सहयोग नपाएको अवस्था छ ।’  विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहले घरबाटो सिफारिस नदिने र दिनै परेको खण्डमा पनि अनावश्यक रूपमा ढिला सुस्ती गर्ने कारणले गर्दा बैंकहरूले कानुनी दायराभित्र रही सहज रूपमा कर्जा असुली प्रक्रियालाई अगाडि बढाउन समस्या भएको बताइएको छ। यसले बैंकको कर्जा असुली प्रभावित भई समग्र आर्थिक चक्रमा असर परेको र आर्थिक स्थायित्वमा समस्या उत्पन्न हुने जोखिम बढेको पनि विज्ञप्तिमा उल्लेख छ।

कर्जा असुलीका क्रममा वित्तीय क्षेत्रका कर्मचारीमाथि धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने र कतिपय ठाउँमा शारीरिक आक्रमण गर्ने घटना बढेको पनि विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटनाले सम्पूर्ण बैंकिङ क्षेत्रको मर्यादामा खलल पुर्‍याउनुका साथै कर्मचारीको मनोबल समेत पूर्ण रूपमा घट्न गएको छ भने अर्को तर्फ कानुनी राज्य माथि पनि प्रश्न गर्ने ठाउँ सिर्जना भएको छ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime