Skip to content

मौद्रिक नीतिपछि प्रश्नको सामना नगर्दा कुशल नेतृत्वकर्ता बन्न चुके गभर्नर डा.पौडेल

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएको छ । मौद्रिक नीति असारमा नै ल्याइएको छ। प्रायःजसो साउनको दोस्रो सातासम्म ल्याइने गरेको मौद्रिक नीति योपटक असार २७ गते नै ल्याइयो ।

असारमा नै ल्याइएको यो पहिलो मौद्रिक नीति भने होइन । असारमा ल्याइएको यो तेस्रो मैद्रिक नीति हो । गभर्नर प्रा.डा विश्वनाथ पौडेलले शुक्रबार साढे १२ बजे मौद्रिक नीति सार्वजनिक गरेपछि २ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको थियो । पत्रकार सम्मेलनमा गभर्नर नै आउने अपेक्षासहित सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रम सुरु भएपछि पनि जब पत्रकार सम्मेलनमा गभर्नर पौडेल देखिएनन् सबै खिन्न भए । कार्यक्रममा गभर्नर पौडेल सहभागी नहुनुलाई अधिकांशले प्रश्नको सामना गर्नबाट भागेको धेरैको आशंका थियो । यो आशंकालाई पत्रकार सम्मेलनमा सहभागी राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको हाउभावबाट पनि प्रष्ट हुन्थ्यो ।

मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने हो । त्यसको मूल नेतृत्वमा गभर्नरले लिने गरिन्छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको पहिलो जस अपजस गभर्नरले नै लिनुपर्छ । हुनत मौद्रिक नीति सञ्चालक समितिबाट पास भएर नै आउने हो । तै पनि यसको मूल नेतृत्वकर्ता गभर्नर पौडेल नै हुन् । वा उनको ठाउँमा अरू जो कोही भएको भए पनि जस नेतृत्वकर्ताले नै लिनुपर्छ ।

लामो राजनीकित रस्साकस्सीका बीच गभर्नर बनेका पौडेलको यो पहिलो नीति हो । गभर्नरले लिने पहिलो नीतिबाट पनि उसको भावी रणनीति, भावी योजना, बजारमा परिचालन भएको पैसा कसरी व्यवस्थापन गर्ने, पैसा परिचालनका क्षेत्र कुन-कुन हुन सक्छन्, ती क्षेत्रमा गभर्नरको दृष्टिकोण कस्तो छ ? भन्ने कुरा पनि देखाउँछ । यी विषयलाई आफू अग्रपंत्तिमा आएर देखाउने कामबाट गभर्नर पौडेल चुके । अझ भनौं भागे ।
सरकारले गभर्नर नियुक्ति गर्नु अघि चयन भएको गभर्नर छनोट सिफारिस समितिका सदस्यले राजीनामा दिनु, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समितिमा राख्नु, गभर्नर छनोट समितिको सदस्य रहेका पौडेलले राजीनामा दिनु र कालान्तरमा आफैं गभर्नर बन्नु सामान्य आलोचनाको विषय होइन । यही सेरोफेरोमा कागताली परेर गभर्नर भएका पौडेलले आजको पत्रकार सम्मेलनमा प्रश्नको सामना नगरेर गभर्नर यति छिट्टै प्रश्नबाट भागे छन् ।

गभर्नर पौडेलसँग केही प्रश्न भने थिए । जस्तै हतार-हतार असारमै किन मौद्रिक नीति?

यो मौद्रिक नीति अहिलेको अवस्थामा कत्तिको वस्तुनिष्ठ ?

मौद्रिक नीतिबाट उदार बन्न खोजे जस्तो मात्रै किन देखियो ? साँच्चै उदार बन्ने हो कि देखाउने मात्रै ?

सेयर बजारमा जाने एकल कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याउनु भयो ? लगानीकर्ताको माग यो हटाउनु भन्ने थियो ? यो नीति ल्याएर आफूलाई सेयर बजार मैत्री देखाउनु खोज्नु भएको हो ?

सेयर बजार मैत्री बन्नु थियो भने बैंकलाई सेयर किन्न दिने नीति किन लिनुभएन ? मौद्रिकमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्गको नाम नै तोक्नु कत्तिको जायज हो ?

जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्यले जेठ २३ गतेदेखि मध्यपहाडी लोकमार्ग हुँदै सरोकारवालाको गुनासा सुन्दै धनगढी पुग्नु भएको कारण मौद्रिक नीतिमा यो व्यवस्था गरेको हो ?

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीबीच मध्यपहाडी लोकमार्ग यात्रा गरेका गभर्नर पौडेल चितवन घुम्न जानु भएको थियो भने मौद्रिक नीतिमा के आउने थियो होला भन्ने गाईगुइँ पनि नचलेको भने होइन ।

यस्तै प्रश्नकै रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरिनेछ । महिलाको हकमा यस्तो कर्जा बढीमा ५ लाख रुपैयाँ गरिने छ भनिएको छ। राष्ट्र बैंकले लिएको नीतिअनुसार बैंकले कर्जा दिन्छन् होला र ? कतै यो नीति चर्चामा आउन ल्याएको हो कि ? सरकार फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउने ? राष्ट्र बैंकले यस्तो नीति लिने ?

अर्को महत्वपूर्ण प्रश्न भनेको, आजै मौद्रिक नीति ल्याउनु थियो भने हिजो (बिहीबार) नेपाल चेम्बर अफ कमर्शले दिएको मौद्रिक नीतिको ३५ बुँदे सुझाव किन लिनुभएको ? वा सुझाव नै लिन बाँकी रहेछ भने हतार किन, अनि सुझाव लिएको २४ घन्टा नपुगी ल्याएको मौद्रिक नीतिमा के-के विषय समेट्नुभयो ?

जस्ता अन्य कैयन प्रश्न उठ्न सक्थे । तर, गभर्नर पौडेल प्रश्नबाट भागे । औषत मानिसले गभर्नर पौडेलले दिने जवाफ मनोवैज्ञानिक रुपमा आंकलन गर्न सक्छन् । तर, गभर्नरको मुखार बिन्दुबाट सुन्न र मनोवैज्ञानिक रुपमा जवाफको परिकल्पना गर्नु फरक भने अवश्य नै पर्छ । कतिपयले मौद्रिक नीतिलाई राजनीकि रंग भएको समेत प्रतिकृया दिएका छन् ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसमा केही प्राविधिक विषय थियो वा केही नबुझेको विषय थियो कि भनेर मात्रै पत्रकार सम्मेलन आयोजना गरेको जानकारी गराए । तर, गभर्नर पौडेल भने प्रश्नको सामना गर्न तयार भएनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime