Skip to content

कालीगण्डकीको पानी ‘लिफ्ट’ बाट सुन्दरचौरमा

nabil bank

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत कालीगण्डकी किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकीमा पानी पुर्‍याइएको हो ।

१० मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरको टङ्याकीमा पानी तान्ने कार्यको शुक्रबार परीक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।

विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर लामो पाइपलाइनमार्फत कालीगण्डकीबाट प्रतिसेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भएको छ । सुन्दरचौरको टङ्याकीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पुग्ने पानी दुईतर्फ वितरण गर्ने संरचना तयार भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ टङ्याकी र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को टङ्याकीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ ।

एक हजार ७०० मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा २३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण, विद्युतीकरण र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए।

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । विसं २०७६ असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदीप जुम्ली जेभीले हालसम्म २ करोड ३० लाख रुपैयाँमा आयोजनाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

विद्युत् जडान, खानेपानी धाराका सामग्री खरिदसहित हालसम्म तीन करोड १८ लाख रुपैयाँ खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडाध्यक्ष टेकबहादुर थापाले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi