काठमाडौं । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। फोनपे नेटवर्कमार्फत क्रस-बोर्डर यूपीआइ ट्रान्जेक्सन १० लाख नाघेको कम्पनीले जनाएको छ।
हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी यूपीआइ कारोबार भएको कम्पनीले जानकारी दिएको छ। यसले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार भारतीय पर्यटकहरूले नेपालमा क्रस(बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको प्रयोग तीव्र बढेको छ। ‘अझ बढी भारतीय ग्राहकहरू यूपीआई सक्षम एप्स प्रयोग गरी फोनपे क्यूआरमार्फत सहज रूपमा भुक्तानी गर्न थालेका छन्। यस अन्तरसञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल माध्यमप्रतिको बढ्दो विश्वास झल्काउँछ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
यूपीआई कारोबारको भौगोलिक पहुँच ७७ वटै जिल्लामा पुगेको छ। देशभर १ लाखभन्दा धेरै व्यापारीले यसको प्रयोग गर्ने गरेको कम्पनीले जनाएको छ।
खानपिन स्थल र रेस्टुरेन्ट, किराना पसल र होटल तथा रिसोर्टमा यसको प्रयोग बढी हुने गरेको छ। विशेषगरी काठमाडौं, कास्की र कैलालीमा फोनपे यूपीआइ कारोबार बढी भएको कम्पनीको तथ्यांकले देखाएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले १० लाख यूपीआई कारोबार पार गर्नु नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण भएको बताए। यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका स्पष्ट देखाउने उनको भनाइ छ।
उनले भने, ‘यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।’
यूपीआइ कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्यता, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर र अन्तरसञ्चालनीय क्यूआर भुक्तानी प्रणालीको सहजता रहेको कम्पनीको बुझाइ छ। फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै छिट्टै क्रस(बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाएको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्