प्यूठान । प्युठानका महिलाले ‘रातो अबिर अभियान’ सुरुवात गरेका छन्।
सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरुका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।
श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरुले रातो अबिर अभियान चलाएका हुन्।
रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकाले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कुसंस्कार तोड्न महिलाहरु जुर्मुराएका छन्। कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरुलाई स्वतन्त्रता हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।
एकल महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दुःख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । सवारीसाधनमा चढ्दासमेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुखेसो उनीहरुले पोखे ।
वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान गुमाएर एकल जीवन बिताइरहेकी नौबहिनी गाउँपालिकाकी एक महिलाले गहभरी आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दुःख पोखिन् ।
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरुले पनि महिलाहरुको संवैधानिक हक कुण्ठित गरिरहेकाले ‘रातो अबिर अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरुले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्युठानका ६४ वडा र सिँगो लुम्बिनी प्रदेशभरी पुर्याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए। लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो(एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्वपूर्ण भूमिका निर्बाह गर्न अनुरोध गरिन् ।
कार्यक्रममा सहभागीहरु २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए। आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए।











प्रतिक्रिया दिनुहोस्