Skip to content

अख्तियारदेखि सम्पत्ति शुद्धीकरणसम्म पुग्यो राप्रपा, ४६ यताको उच्च पदस्थमा रहेकाको सम्पत्ति छानबिन गर्न माग

nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म पुगेको छ । राप्रपाले सबै प्रकारका भ्रष्टाचार र उच्च पदस्थ व्यक्तित्वको सम्पत्ति छानबिनको माग गर्दै अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गएको हो ।

‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ ‘आयोगको वार्षिक प्रतिवेदनअनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दाबी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ ।’ केन्द्र प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिएको राप्रपाको बुझाई छ । भ्रष्टाचार कहाँ–कहाँ छ ? होइन कहाँचाहिँ छैन भनेर खोजिनुपर्ने परिस्थिति निर्माण भएको राप्रपाले जनाएको छ ।

यसैगरी, पछिल्लो समय सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका र मन्त्रीहरू एकर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको जस्तो अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रस्ट हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय हो ।’

पछिल्लो समय अख्तियार आयोगबाट आयोगबाट भ्रष्टाचार छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त भइरहेको भएता पनि ठूला भ्रष्टाचारका काण्डहरू जस्तै, सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेललगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर परेको राप्रपाको बुझाई छ ।

आयोगको यस्ता काण्डलाई निष्पक्षता तथा प्रभावकारितामा नहेरेको भन्दै राप्रपाले यसलाई गम्भीरता पूर्ण हेर्न माग गरेको छ । ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, तत्कालीन समयको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्टलगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरणले नेपाललाई विश्व समुदायमा बदनाम गरेको उनीहरूले बताएका छन् । यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खर्बौँ कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान र कारवाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा पार्टीको ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

 

 

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime