काठमाडौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को दशौं परिषद्को दोस्रो कार्यकालका लागि सिए निल बहादुर सारु मगर र उपाध्यक्षमा सिए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन् ।
सम्पन्न निर्वाचनवाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षले शुक्रबार पद तथा गोपनियताको सपथ लिए ।
अध्यक्ष निल सारुले महालेखापरीक्षक तोयम रायाबाट तथा उपाध्यक्ष आनन्द शर्माले नवनियुक्त अध्यक्षबाट पद तथा गोपनियताको सपथ लिए । यसअघि सारु मगरले एक वर्ष संस्थाको उपाध्यक्षको रुपमा आफ्नो कार्यभार पुरा गरीसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष निलबहादुर सारु मगरले दुई पुस्ताको पुलको रुपमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा उनले संस्थाको तीन वर्षे रणनीतिक योजनालाई हालै संस्थाले चारवटा पिलरसहित तयार गरेको पाँच वर्षे रणनीतिक योजना अनुसार आफ्नो कार्यकालमा लेखा व्यवसायलाई उत्कृष्ट बनाउन र सोको प्रभावकारी कार्यान्वयनमा जोडदिने प्रतिवद्धता जनाए ।
आफ्नो कार्यकालमा सिए शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक निर्णय गरी सोको सुरुवात समेत भइसकेको जनाए । स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग सहकार्य गर्दै क्रेडिट टान्सफरको व्यवस्था मिलाउने, बजारमा मध्यमस्तरका लेखापालहरुको अभाव रहेको भन्दै यसको अभाव पुरा गर्न प्रयास गर्ने, सक्षम दर्तावाला लेखापरीक्षकहरुको वर्गवृद्धीको लागि कसरी गर्न सकिन्छ सोको लागी कार्य गर्ने साथै समग्र सदस्यहरुको क्षमता अभिबृद्धिको लागि आवश्यक कार्य गर्ने, एआई, अन्तराष्ट्रिय कर, डाटा एनालिटिक्स आदीमा विशेषज्ञता कोर्ष संचालन गर्ने, सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा संस्था आंफै तथा महालेखानियन्त्रक कार्यालयको सहकार्यमा यस सम्वन्धि विभिन्न कोर्षहरु संचालन गर्ने लक्ष्य लिएको छ ।
सदस्यहरुको सेवालाई सरकारी क्षेत्रमा विस्तार गर्न सकेमा देशको बेरुजु घट्ने र राजश्वको दायरा बढाउन महत्वपूर्ण सहयोग पुग्ने भएकोले यसको लागि पहल गर्ने यसको लागि निजामती नियमावलीमा सिएको दरवन्दीको व्यवस्थाको लागि आवश्यक पहल गर्ने, विभिन्न क्षेत्रहरुको लागी निर्देशिका तयार गर्ने, लेखाव्यवसायको गुणस्तर बृद्धिको लागि फर्मको आकार बढाउन जोड दिने, स्वदेशमै बसेर सदस्यहरुले विदेशी कम्पनीहरुको आउटसोर्सिङ्ग कार्यहरु गर्न आवश्यक सहजीकरण गर्ने जनाए ।

यसका लागि संस्थाको ओएभसाइटमा छुट्टै आउटसोर्सिङ्ग पोर्टलको व्यवस्था गर्ने, क्याम्पस प्लेसमेन्ट सुरु गर्ने, सरकारी निकाय तथा नियमनकारी निकायहरुको विचमा अझ निकटतम सम्वन्ध स्थापन गर्दै सहकार्य अगाडी बढाउने एवं नियमनकारी निकायको राउण्डटेवल आयोजना गर्ने, कर, राजश्व तथा आर्थिक विषयमा सरकारलाई आवश्यक राय सुझाव दिने, देशको समृद्धिको यात्रामा लेखाव्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सोलाई एकाकार गर्दै अगाडि बढाउने तथा आईक्यानलाई डिजिटल आइक्यान बनाउने जस्ता महत्वपूर्ण प्रतिवद्धताहरु उनले व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सिए प्रवीण कुमार झाले पञ्च वर्षीय चौथो रणनीतिक योजना बनाइएको जानकारी गराए । यो वर्ष संस्थामा २०८ जना सिए थपिएको जानकारी उनले गराए । उनले सिएका विद्यार्थीहरुलाई विश्वकै प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रम निर्धारण गरिएको बताए । यसले नेपाली लेखा परीक्षकहरु अझै गुणस्तरीय बन्ने उल्लेख गरे ।
नेपाल एफएटीएफको ग्रे लिस्टमा परेको सन्दर्भमा लेखापरिक्षकलाई अझै चुस्त र जिम्मेवार बनाउने प्रयास गरिएको जानकारी समेत उनले गराए ।
कार्यक्रमका महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षण व्यवसायलाई अझै परिस्कृत बनाइदै लगिने बताए । उनले विश्वमा वित्तीय परिक्षणमा विभिन्न नयाँ आयाम आएको र त्यसलाई नेपालमा पनि अनुकरण गर्न गराउन अत्यावश्यक रहेको औल्याए ।
‘कम्प्लायन्स अडिट, प्रफर्मेन्स अडिट, आईटी अडिट जस्ता कुरा आएका छन्, उनले भने, अडिटरबाट धेरै कुराको जवाफ माग्न थालिएको छ, यस्ता विषयमा हामी प्रस्ट हुनुपर्छ ।’ उनले कानुनको परिपालना पनि संवेदनशील रहेको भन्दै अडिटरले कानुन ऐन संविधान कार्यविधि सवै अध्ययन गर्नुपर्ने अवस्था आएको औल्याए ।
उनले सरकारको विभिन्न संरचनामा करिव १ सय जना चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्ने प्रबन्ध भइरहेको जानकारी गराए । तर विगतमा दोब्बर तलब दिँदा पनि सरकारी सेवामा नटिकेको प्रसंग औल्याए ।






प्रतिक्रिया दिनुहोस्