काठमाडौं । बाढी पहिरोका कारण देशका विभिन्न ७ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने ५ वटा एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा जिल्ला भोटेखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरोध भएको छ । यस्तै रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्णरूपमा अवरोध भएको छ भने सोही जिल्ला गोसाइकुण्ड गाउँपालिका–२,३ स्थित पासङल्हामु सडक खण्ड पूर्णरूपमा अवरोध भएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–२ कोदारस्थित अरनिको राजमार्ग, बागलुङ जिल्ला बागलुङ नगरपालिका–१० दब्ल्याङ स्थित कालीगण्डकी, रूकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको छ । सोही जिल्लाको परिवर्तन गाउँपालिका–५ हतारबाँस घोराही रूकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।
यस्तै नवलपरासी जिल्ला गैडाकोट नगरपालिका–३ तरङखोला स्थित कालिगण्डकी एकतर्फी सुचारू भएको छ । मुस्ताङ जिल्ला थासाङ गाँउपालिका–४ घोप्टेभिरस्थित बेनी जोमसोम सडब खण्ड एकतर्फी सुचारू भएको छ भने तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्विराजमार्ग खण्ड एकतर्फी सुचारू भएको छ । रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ५ ग्रामजिम र धामारचोर सहिद राजमार्ग एकतर्फी सुचारू भएको छ ।






प्रतिक्रिया दिनुहोस्