काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले दुई पटक निष्कासन गरेको हकप्रद सेयरमा मोटो रकम अपचलन भएको पाइएको छ ।
बैंक घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानले वास्तविक रुपमा रकम जम्मा नै नगरी गैरकानूनी रुपमा हकप्रद सेयर प्राप्त गरी अपचलन गरेको देखिएको छ । यसमा सम्पत्ति शुद्धीकरण समेत भएको देखिएको छ ।
अनुसन्धान प्रतिवेदन अनुसार बैंकले २०७१ असार १३ गते २:१ र २०७३ साउन १७ गते १:२.२५ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई २०७१ असार मसान्तसम्ममा पूँजी १० करोड पुऱ्याउन निर्देशन दिएको थियो । सोही अनुसार बैंकले २ पटक हकप्रद सेयर जारी गरेको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गर्न सम्भव नभएकोले बैंकका सम्पूर्ण संस्थापक तथा सेयरधनीहरुले आ-आफ्नो सेयर कित्ताको नियमानुसार पर्न जाने हिस्सा अनुसारको रकमपछि हिसाब मिलान गर्ने गरी जम्मा गर्न लगाएको जनाइएको छ ।
उक्त रकमलाई कल इन एडभान्स शिर्षकमा जम्मा गर्न लगाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त कल इन एडभान्स शिर्षकमा जम्मा गरिएको रकम सेयरमा परिणत गरी सम्बन्धित व्यक्तिलाई सेयर दिई चुक्ता पूँजी वृद्धि गर्ने निर्णय भएको उल्लेख छ ।

बैंकका संस्थापक सेयरधनीको नाममा रकम जम्मा गर्ने प्रयोजनको लागि कल इन एडभान्स हिसाब नामको खाता खोली संस्थापक सेयरधनीहरुलाई रकम जम्मा गर्न सूचना जारी गरेको थियो । जम्मा भएको रकमको विश्लेषण गर्दा ठूलो रकम नगदै जम्मा भएको पाइएको छ ।
१० लाख रुपैयाँ भन्दा बढीको कारोबारको स्रोत पुष्टी नगरेको पाइएको छ । यस्तै पैसा जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरेको, जम्मा गर्नेको दस्तखत किर्ते गरेको देखिएको छ । कारोबार समय पश्चात ढिलो गरी अनियमित समयमा नगद जम्मा भएको पाइएको छ ।
हकप्रदमा ५ करोड ७४ लाख ७५ हजार जम्मा भएको देखाइएको छ । उक्त कार्यमा तत्कालिन कर्मचारीहरु बेद प्रकाश सिंह ठकुरी, मानबहादुर चौधरी र समजलाल चौधरी संलग्न रहेको पाइएको छ । वास्तविक रुपमा रकमजम्मा नै नगरी गैरकानूनी रुपमा हकप्रद सेयर प्राप्त गरेको पाइएको छ ।






प्रतिक्रिया दिनुहोस्