काठमाडौं । आजदेखि बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन बन्द गर्ने भएको छ । सो कम्पनीले पहिलो चरणअन्तर्गत तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २९ गतेदेखि आईपीओ जारी गरेको थियो ।
वैदेशिक रोजगारी भएकालाई जारी गरिएको आईपीओ गत साउन ११ गते बन्द गरिसकेको छ । कम्पनीले गत असार १५ गते आइपीओ निष्कासनको अनुमति पाएको थियो ।
कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यका कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका–६ (साविक पीपलकोट, गाविस–४, ५ र ७० र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस–१० का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि सुरक्षित गरिएको छ ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिएको थियो ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्