Skip to content

सिटिजन लाइफको लाभांश रद्द, सेयर कारोबार रोकियो

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि घोषणा गरेको लाभांश रद्द भएको छ । कम्पनीले सोमबार मात्रै लाभांश घोषणा सार्वजनिक गरेको थियो । हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

तर, बिमा प्राधिकरणले लाभांशमा रोक लगाएपछि हाललाई रद्द गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले लाभांश रद्द गरिएको जनाएको छ ।

लाभांश रद्द भएसँगै सोमबारको कारोबार स्थगित हुनेरनहुनेबारे अन्यौलता बढेको छ । सोमबार बिहान लाभांशको सूचना सार्वजनिक भएपछि दिउँसो कम्पनीको मूल्य उच्च दरले बढेको थियो । प्रतिकित्ता ४ सय ५९ बाट बढेर मूल्य ४ सय ९६ रुपैयाँसम्म पुग्यो । सोमबार सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पनि यहीं कम्पनी रह्यो ।

कतिपयले उच्च लाभांशको आशमा सेयर किने भने कतिपयले मूल्य बढेको मौकामा नाफा लिएर बेचे । तर, मंगलबार नै कम्पनी सूचना जारी गर्दै बीमा प्राधिकरणको निर्देशनपछि लाभांश रद्द भएको जानकारी गरायो ।

मंगलबार नेप्सेले कम्पनीको सेयर कारोबार समेत स्थगित गरिदिएको छ । ‘कम्पनीको सूचना प्रवाहमा गडबडी देखियो, बजारको स्वच्छता कायम राख्नका लागि मंगलबार कम्पनीको कारोबार स्थगित गरिएको हो’ नेप्सेले जनाएको छ।

सेयर लगानीकर्ताले सोमबार भएको कम्पनीको सबै कारोबार रद्द गर्न माग गरेका छन् । ‘लगानीकर्ता झुक्यानमा पार्नेगरी कम्पनीले लाभांश घोषणामा लापरबाही गरेको देखिन्छ, त्यसकारण सोमबार भएको कम्पनीको सबै कारोबार रद्द गर्नुपर्छ’ लगानीकर्ता पिताम्बर खकुरेलले भने । विगतमा पनि यस्ता विवादित घटनाले कारोबार नै रद्द भएका उदाहरण छन् । तसर्थ यस कम्पनीको पनि सोमबारको सबै कारोबार रद्द हुन सक्नेछ ।

कम्पनीले यसअघि आईपीओ जारी गर्दा संकलन भएको प्रिमियम रकमबाट सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको थियो । एकै आर्थिक वर्षमा दुई पटक लाभांश दिन नमिल्ने भन्दै नियामक बीमा प्राधिकरणले अहिलेको लाभांश रोकेको स्रोतले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life