Skip to content

षडानन्द नगरपालिकाका वडाध्यक्ष शेर्पा जडीबुटी खेती गरेर वार्षिक ७ लाखसम्म आम्दानी लिँदै

nabil bank

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटी खेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक ५ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए।

आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उनको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराइतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए ।

जनताको सेवापश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ । ‘जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने गर्छु’, वडाध्यक्ष शेर्पाले भने, ‘जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।’

आर्थिक रुपमा सक्षम बन्नका लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उहाँको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ ।

‘उत्पादन भएको जडीबुटी बिक्रीका लागि समस्या छैन’ उनले भने, ‘जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिक रुपमा २ लाखदेखि १० लाख रुपैयाँसम्मको जडीबुटी बिक्री गर्छन् ।’

पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाउनुभयो । १० हजार रुपैयाँको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट ५० हजार रुपैयाँसम्म आम्दनी लिन सकिने उनको भनाइ छ । आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनको भनाइ छ ।

वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिए। ‘मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ’ उनले भने, ‘आफूले सिकेको सीपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु ।

म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौँ ।’ आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime