Skip to content

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

nabil bank
Tires are set on fire to block a road during a protest demanding the immediate release of hostages held by Hamas and calling for the Israeli government to reverse its decision to take over Gaza City and other areas in the Gaza Strip, near Jerusalem, Israel, Sunday, Aug. 17, 2025. (AP Photo/Ohad Zwigenberg)

जेरुसेलम । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौं हजारले भाग लिएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका तस्बिरहरू देखाउँदै युद्धले आम नागरिकलाई पारिरहेको पीडाबारे आक्रोश पोखेका थिए । अहिले गाजामा दुई सय ५० भन्दा बढी मानिस भोकमरी वा कुपोषणका कारण मृत्यु भएको छ ।

गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास छ । बन्धकका परिवारहरूले सरकार र हमास दुवैलाई दोष दिएका छन् ।

पूर्वसैनिक र गुप्तचर अधिकारीहरूले पनि युद्ध अन्त्य गर्न सम्झौताको आवश्यकता औंल्याएका छन् । तर, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक मुक्तिलाई ढिलाइ गर्छ र अर्को आक्रमण सुनिश्चित गर्छ’ भन्दै सम्झौतामा आपत्ति जनाइरहेको छ ।

यसअघि केही बन्धक मुक्त गर्ने युद्धविराममा सहमति भएपछि नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भनेका छन् ।

यसैबीच, इजरायली सेनाले गाजामा कम्तीमा १७ जना सहायता खोज्ने नागरिकलाई मारेको अस्पतालहरूले बताएका छन् । उनीहरू संयुक्त राष्ट्रसंघका ट्रकको पर्खाइमा थिए । प्रत्यक्षदर्शीहरूले सेनाले भीडतर्फ गोली चलाएको बताएका छन् । मध्य गाजाको बुरेज शिविरमा आक्रमण हुँदा थप तीन जना मारिएको खबर आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ६१ हजार नौ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये आधा महिला र बालबालिका छन् । आइतबार मात्रै कुपोषणका कारण दुई बालबालिका र पाँच वयस्कको मृत्यु भएको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले गाजामा भोकमरी सबैभन्दा उच्च स्तरमा पुगेको चेतावनी दिएको छ ।

अब इजरायली सेना गाजा सहर, मुवासी र अन्य भीडभाड क्षेत्रहरूमा नयाँ आक्रमण गर्न तयारीमा रहेको बताइएको छ । सेनाले मानिसहरूलाई दक्षिणतर्फ सार्ने योजना बनाए पनि ‘सुरक्षित क्षेत्र’ भनिएका ठाउँहरूमा पनि बम प्रहार भएको छ । धेरै प्यालेस्टिनीले ‘गाजामा कतै सुरक्षित नभएको’ भन्दै आफ्नो स्थान नछोड्ने अडान लिएका छन् ।

यसैबीच, इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण गरेको छ । आक्रमणमा राजधानी सानााको पावर प्लान्ट क्षतिग्रस्त भएको छ । इजरायलले आफ्नो भूमिमा लक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा हमला गरिएको बताएको छ । हुथीहरूले भने बेन गुरियन विमानस्थल लक्षित गरेको दाबी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime