काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् । काठमाडौंमा जारी नाडा अटोशोका अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर: इभी एडप्सन इन नेपाल’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै सचिव राउतले यस्तो अनुरोध गरेका हुन् ।
पछिल्लो समय केही उद्योगीहरुले नेपालमै विद्युतीय सवारीसाधनहरु एसेम्बलिङ गर्न थालेको र कतिपय उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग खोल्न अनुमति मागसमेत गरेको भन्दै यसले सबैलाई राम्रो गर्ने बताए । नेपालमै गाडी उत्पादन हुने हो भने रोजगारी सिर्जना हुने र अहिले देशले भोगिरहेको व्यापार घाटा पनि कम हुने सचिव राउतको भनाइ छ । ‘अहिले हामीले १८ खर्बमाथिको आयात गर्दा ३ खर्ब हारहारीमात्रै निर्यात गरिरहेका छौं, व्यापारघाटा नै १५ खर्ब २७ अर्ब छ’ सचिव राउतले भने, ‘आयात हुने वस्तुको पहिलो नम्बरमा नै पेट्रोलियम पदार्थ र ३÷४ नम्बरमै गाडी छ, नेपालमै इभी उत्पादन गर्न सके हामीले इन्धनको खपत कम गर्न सक्छौं र व्यापारघाटा कम हुन्छ ।’
नेपालमै उत्पादन गर्न सके व्यापारघाटा कम हुने, रोजगारीका अवसरहरु सिर्जना हुने र ठूलो मात्रामा बाहिरिरहेको विदेशी मुद्रा बाहिरिने क्रम पनि कम हुने उनको भनाइ छ । उनले इभीका विषयमा नयाँ कानून बन्ने चरणमा रहेको र नयाँ कानूनले अहिले देखिएका समस्याहरु पनि समाधान हुने बताए । अहिले विद्युतीय सवारी साधनका बिक्रेताहरुले दर्ता प्रक्रियादेखि सवारी परीक्षणसम्मको समस्या झेलिरहेका छन् । यी समस्याहरु समाधान गर्नका लागि प्रदेश र स्थानीय सरकार समेतलाई सहभागी गराएर पिपिपि मोडलमा लग्ने सरकारको तयारी रहेको सचिव राउतले बताए ।
इभीमा बैंकहरुले पनि राम्रै लगानी गरेका छन्ः उपाध्यक्ष रेग्मी
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विद्युतीय सवारी साधानहरुमा बैंकहरुले राम्रै लगानी गरेको बताए । उनले आगामी दिनमा पनि बैंकले इभीलाई प्राथमिकतामा नै राख्ने बताए । सन् २००० बाट निजी सवारीसाधनका रुपमा इभी आयात शुरु भएको तथ्यांक सुनाउँदै उनले अहिले भइरहेको प्रयोगको तथ्यांकले उत्साहित बनाउने बताए । वातावरणीय हिसाबले पनि इभी धेरै राम्रो भएकाले बैंकहरुले प्राथमिकताका साथ लगानी गरिरहेको उनको भनाइ छ । उपाध्यक्ष रेग्मीका अनुसार ग्लोबल आइएमईले इभीमा ऋण लगानी गर्न छुट्टै युनिट नै बनाएको छ, अन्य बैंकहरुले पनि बनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्