काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा सेयर बजारमा ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.५८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा जीवन बीमा कम्पनीले १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी गरेका थिए ।
बीमा प्राधिकरणद्धारा जारी बिमकको लगानी निर्देशिका, २०७५ मा बीमा कम्पनीले बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्र्राधिकरणका अनुसार मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने सेयर बजारमा लगानी गरेको छैन । अन्य १३ वटा कम्पनीले लगानी गरेको छ ।
जसमा १२ कम्पनीको लगानी बढेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको लगानी भने घटेको छ । पछिल्लो समय बैंकको ब्याजदर निकै घटेको छ । ब्याजदर घटेपछि बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशिका अनुसार सेयर बजारमा लगानी बढाएका छन् । बीमा कम्पनीले मुद्दति निक्षेपमा बढी लगानी गर्ने गरेका थिए । ब्याजदर घटेका कारण लगानी विविधिकरण गर्न लागेको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।
प्राधिकरणका अनुसार गत आवमा सबैभन्दा बढी सेयर बजारमा लगानी गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा ९१.७१ प्रतिशत हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको थियो । प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले सेयर बजारमा गर्ने लगानी ७४.७० प्रतिशतले घटेर ५४ करोड ६४ लाखमा सिमित भएको छ ।
लगानीको हिसाबले दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ लाख रुपैयाँ बनाएको छ । अघिल्लो आवको सोही अवधिमा ४२.८१ प्रतिशतले धेरै हो । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयर बजारमा गर्ने लगानी १२९.०८ प्रतिशतले बढेर २ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयर बजारमा गर्ने लगानी २८.६२ प्रतिशतले बढेर २ अर्ब ३४ करोड २४ लाख, सन नेपाल लाइफले सेयर बजारमा गर्ने लगानी १५७.६६ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयर बजारमा गरेको लगानी ४०.०७ प्रतिशतले बढेर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै नेशनल लाइफले सेयर बजारमा गरेको लगानी १५२.६७ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ८९ लाख, सिटिजन लाइफले सेयर बजारमा गरेको लगानी ३३९.४१ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४३ लाख, आइएमई लाइफले सेयर बजारमा गरेको लगानी ८४.१२ प्रतिशते बढेर १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।
प्राधिकरणका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयर बजारमा गरेको लगानी ४९.५५ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख, एशियन लाइफ इन्स्योरेन्सले सेयर बजारमा गरेको लगानी ४.२७ प्रतिशतले बढेर ८६ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्