Skip to content

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

nabil bank

हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि जोडिएपछि यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड हराउन थालेका हुन् ।

नुन, चामल, तेल, खाद्यान्न, लत्ताकपडालगायत दैनिक घरायसी उपभोग्य सामग्री ढुवानी गरेर दुर्गम सदरमुकाम सिमकोटसहित गाउँसम्म पुर्याउने प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड अहिले प्रयोगविहीन बन्न थालेका हुन् ।

यसअघि स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो । यहाँ वर्षौँसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामग्री ढुवानी गर्न प्रयोग गर्ने खच्चड, घोडा र डोको–नाम्लो विस्तारै लोप हुँदै आएका गाउँका ज्येष्ठ नागरिकको भनाइ छ ।

हुम्ला औपचारिक रूपमा सडक सञ्जालमा यसैवर्ष मात्र जोडिए पनि अधिकांश गाउँमा भने यसअघि नै सडक पुगिसकेको थियो । सडक पुगे लगत्तै छोटा दूरीका सवारीसाधन सञ्चालन हुन थालेपछि विस्तारै खच्चड विस्थापन हुँदै गएका अदानचुली गाउँपालिका–३ का हर्कदन फडेराले बताए । अहिले खच्चड यातायात इतिहास मात्र बन्दै गएको उनको भनाइ छ ।

कार, जीप, ट्रक र ट्याक्टर गाउँगाउँमा पुग्न थालेपछि मानिसले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका फडेराले बताए । सडक निर्माण र यातायातको पहुँच विस्तार भएसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय विस्तारै लोप हुँदै गएको उनले उल्लेख गरे ।

फडेराले आफूले धेरै पहिलेदेखि यो पेसा गर्दै आएको जनाउँदै अहिले पनि खच्चड व्यवसायलाई निरन्तरता दिँदै आएको बताए । काम कम हुँदा आम्दानीमा कमी आएको भन्दै उनले सोही कारणले अहिले खच्चडलाई पालनपोषण गर्न मुस्किल हुन थालेको धारणा राखे ।

व्यावसायिक रूपमा खच्चड पालेर जीविकोपार्जन गर्दै आएका फडेरा मात्र नभएर जिल्लाका अधिकांश व्यापारीले अहिले गाडी, ट्याक्टर चलाउन सुरु गरेका छन् । समयको मागसँगै रैथाने पेसाबाट आम्दानी कम हुन थालेपछि वैकल्पिक रूपमा जीप, बस र ट्याक्टर सञ्चालन गर्नुपरेको उनको अनुभव छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime