काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको वर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेको प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सबै किसिमका अटोमोवाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको जानकारी दिँदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोखे ।
यसै क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सुझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने उनले बताए । अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राखे ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरेका छन् ।
सोहि छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरेका छन् । छलफलको अन्तमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताइन् ।






प्रतिक्रिया दिनुहोस्