Skip to content
Prabhu

सर्लाहीको लालबन्दीका ३ विपन्न परिवारलाई घर

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रका विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

मधेस प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत लालबन्दी नगरपालिका–५ मा दुई र लालबन्दी नगरपालिका–१० मा एक परिवारका लागि निर्माण गरिएका आवास भवन हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाभग्राहीलाई घर हस्तान्तरण गरे।

लालबन्दी नगरपालिका–५ निवासी हरि धमला र मैतीदेवी तामाङ तथा वडा नं १०, निवासी गणेशबहादुर मिरिङचिङलाई घर हस्तान्तरण गरिएको नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिए । घर पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । लाभग्राही धमलाले आफूहरूले जीवनभर दुःख गर्दा पनि बाँस जोड्न नसकेका अवस्थामा प्रदेश सरकारले घर बनाइदिएकामा खुसी व्यक्त गरे ।

श्रमदानसहित ५ लाख ६५ हजारको लागतमा निर्माण गरिएको प्रत्येक आवास भवनमा दुईवटा सुत्ने कोठा, एउटा भान्सा कोठा र शौचालय तथा खानेपानीको धारासमेत जडान गरिएको छ । जस्तापाताको छानो भएको उक्त घर आधुनिकसँगै भूकम्पप्रतिरोधी रहेको मन्तव्यका क्रममा मन्त्री लुङ्गेलीले उल्लेख गरे । यसै कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पनि चार विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका उपप्रमुख पाख्रिनले आवास कार्यक्रमले घरवारविहीन विपन्न नागरिकलाई ठूलो राहत पुगेको बताए । भवन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल, राजन काफ्ले, बज्रमणि लामा, सुमन अमात्यलगायतको उपस्थिति रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal