काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पहिलो निर्णय हस्ताक्षर गर्न आनाकानी गरेका छन् । उनले मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्नु आनाकानी गरेका हुन ।
मन्त्रालयका कर्मचारीहरूले उनलाई थिंक ट्यांकहरूको नयाँ समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । मन्त्रालयका कर्मचारीले भनेका थिए, ‘विज्ञान प्रविधिको क्षेत्रमा रहेका सम्पूर्ण विज्ञहरूको राय सुझावमा आधारित भएर मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने नीति कार्यक्रमहरूमा हामीले समिति गठन गर्ने भन्ने विषयमा निर्णय गरेका छौँ । अहिले हामीले चारवटा विषयमा तय गरेका छौँ ।’ तर, उनले समिति मात्रै बनाएर नहुने भन्दै आर्थिक स्रोत खोजी गरे । सधैँ समिति मात्रै बन्ने तर आर्थिक स्रोत सुनिश्चितता नहुने कुरामा उनको आपत्ति थियो ।
‘समिति त बन्छ । बनाउँला । समिति मात्रै बनाएर भएन । पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्यो । सधैँ मन्त्रालयमा अड्किएका कुरा हो,’ शिक्षामन्त्री पुनले भने, ‘पैसा नै छैन भनेर अहिलेसम्म अड्किएको हो । पैसा कहाँबाट ल्याउने भनेर आर्थिक स्रोत त खोज्नुपर्यो नि । आर्थिक स्रोत पनि खोजौँ ।’ उनले आफूले मन्त्रालय देखेको धेरै वर्ष भएको तर अहिलेसम्म केही काम नभएकोमा आपत्ति जनाए । ‘मैले विज्ञान मन्त्रालय देखेको धेरै वर्ष भयो । अहिलेसम्म केही काम गरेको छैन । ६ महिनासम्म के काम होला र ? तर केही त काम होस्,’ मन्त्री पुनले भनेका छन्।
उनले वार्षिक बजेट हेरेर मात्र काम अगाडी बढाउने जानकारी दिएका छन् । उनले नाममात्रैको समिति नबाउने बताए । ‘यस्तो समिति धेरै बन्यो । मैले पनि धेरै भोगेँ । समिति बनायो, बस्यो । काम नहुने । त्यतिकै हाजिर गर्ने र दुई चार पटक मिटिङ बस्ने भयो । काम नहुने भयो ।’ उनी भन्छन्। ‘भिजिटिङ कार्डमा मात्रै लेख्ने कुरा हुन नहुने उनको भनाइ थियो ।’
प्रतिक्रिया दिनुहोस्