मुम्बई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार भारतमाथि दबाब दिँदै आएका छन् कि उसले रूसबाट कच्चा तेल खरिद बन्द गरोस् । ट्रम्पले भारतमाथि २५ प्रतिशत पेनाल्टी तोकेपछि ट्यारिफ ५० प्रतिशतसम्म पुगेको छ । उनले भारत र चीनलाई युक्रेनमाथि भइरहेको रूसी आक्रमणका मुख्य कारण भन्दै आलोचना गरेका छन् । उनका अनुसार, यी दुई मुलुकले तेल किनमेल रोकिदिए तत्कालै युद्ध अन्त्य हुन्छ ।
ट्रम्पले सार्वजनिक रूपमा भारतमाथि आरोप लगाउँदै आएका छन् कि रूसबाट तेल खरिद गरेर भारतले अप्रत्यक्ष रूपमा युद्धलाई वित्तीय सहयोग गरिरहेको छ । अमेरिकी सरकार निरन्तर दबाब बढाइरहेकै बेला सेप्टेम्बर महिनामा भारतको रूसबाट तेल आयात घटेको तथ्यांक सार्वजनिक भएको छ । यसले अब भारत ट्रम्प प्रशासनको दबाबमा आयात घटाएको हो वा अन्य कारणले यस्तो भएको हो भन्ने प्रश्न उठाएको छ ।
सेप्टेम्बरमा आयातमा कमी
ग्लोबल रियल टाइम डेटा कम्पनी केप्लर को रिपोर्टअनुसार भारतले सेप्टेम्बरमा रूसबाट दैनिक औसत १.६० मिलियन ब्यारेल तेल आयात गर्यो । यो अगस्टको तुलनामा करिब ५.४ प्रतिशत कम हो । सरकारी स्वामित्वका कम्पनीहरूले मात्र दैनिक ६ लाख ५ हजार ब्यारेल आयात गरे, जुन अप्रिल–अगस्टको औसतभन्दा ३२ प्रतिशत कम हो ।
के ट्रम्पको दबाबको असर?
यद्यपि, विज्ञहरूका अनुसार सेप्टेम्बरमा देखिएको कमी सीधा ट्रम्पको दबाबको नतिजा होइन । तेल आपूर्ति सम्झौता सामान्यतया ६–८ हप्ताअघि नै हुन्छ । त्यसैले सेप्टेम्बरमा आएको कमी जुलाई–अगस्टमा भएका सम्झौताका आधारमा हो । ट्रम्पले जुलाईदेखि भारतलाई आलोचना गर्दै अगस्टमा पेनाल्टी घोषणा गरेका थिए । त्यसैले अक्टोबरदेखि मात्र दबाबको प्रत्यक्ष प्रभाव देखिन सक्छ भन्ने अनुमान गरिएको छ ।
अन्य कारणहरू पनि
रूसबाट भारतसम्म माल ढुवानी खर्च घट्नुको साटो उल्टै बढेको छ । तेल खरिदमा पाइने छुट (डिस्काउन्ट) पनि पहिलेभन्दा कम भएको छ । साथै, अमेरिकी दबाबले जोखिम बढेकाले सरकारी कम्पनीहरूले आपूर्ति विविधीकरण गर्नुपर्ने आवश्यकता देखेका छन् । यी सबै कारणले पनि आयातमा कमी आएको बताइन्छ ।
यसरी हेर्दा, भारतले रूसी तेल आयात घटाएको छ तर यो ट्रम्पको धम्कीको प्रत्यक्ष असर हो वा आर्थिक कारणको परिणाम मात्र हो भन्ने कुरा अझै प्रस्ट छैन । अक्टोबरपछि आउने आपूर्तिले मात्र वास्तविक तस्वीर देखाउनेछ ।






प्रतिक्रिया दिनुहोस्