Skip to content

राजमार्गमा पहिरोले आवागमन अवरुद्ध, उपत्यकामा भने सामान्य चहलपहल

काठमाडौं।काठमाडौँ उपत्यकाको भित्री सडक तथा शहरभित्र सवारी आवागमन अहिले सामान्य रहे पनि मुलुकका प्रमुख राजमार्गहरूमा निरन्तर वर्षा र पहिरोका कारण आवागमनमा व्यापक अवरोध भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउजाउ गर्ने सवारी साधन पूर्णरूपमा रोकिएका छन्।

कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुण क्षेत्रमा खसेको पहिरोका कारण त्यहाँ पनि सवारी साधन आजसम्म चल्न सकेका छैनन्।

यस्तै, पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीमा पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प भएको छ। रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएकाले त्यहाँ पनि नाका आवागमन बन्द नै छ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिँदा यातायात आज पनि प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गर्दै बाढी, पहिरो र विपद्‌जन्य घटनाको जोखिमलाई मध्यनजर गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नागढुङ्गा–मुग्लिन–नारायणगढ सडकखण्ड, अरनिको राजमार्ग, गल्छी–स्याप्रुबेशी–रसुवागढी सडक, त्रिभुवन राजपथ लगायतका सडकमा रातको समयमा अत्यावश्यक बाहेक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।

मकवानपुरमा हेटौडा–कान्ति लोकपथ हुँदै ललितपुर आवतजावत गर्ने सवारीलाई असोज २० गतेसम्म अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको छ। हेटौडाबाट भैँसे हुँदै काठमाडौँ आउजाउ गर्ने सवारीलाई पनि साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, वि.पि. राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै सवारीलाई असोज २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

सुरक्षा निकायले यात्रु महानुभावलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T