काठमाडौं। देशका विभिन्न भागमा भइरहेको लगातार वर्षा र सम्भावित बाढी, पहिरो तथा डुबानका कारण नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचनामा क्षति हुन नदिन उच्च सतर्कता अपनाएको छ। प्राधिकरणले सम्भावित क्षति न्यूनीकरण र विद्युत् सेवा अवरुद्ध भएमा तत्काल मर्मत गरी सेवा पुनः सञ्चालन गर्नका लागि कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार विपद् व्यवस्थापनका दृष्टिले ग्रिड सबस्टेसन, विद्युत् उत्पादन गृह र वितरण लाइनमा हुन सक्ने क्षतिको मूल्याङ्कन गरी पूर्वतयारी पूरा गरिएको छ।
सिलवालका अनुसार बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि पूर्वतयारी स्वरूप ३÷३ जनाको सिफ्टलाई बढाएर ६÷६ जनाको टोली खटाइएको छ। साथै, डुबानको सम्भावना भएका सबस्टेसनमा पानी फाल्ने पम्पहरू तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, पहिरोको जोखिम भएका क्षेत्रमा प्रसारण लाइनका टावरहरू वरिपरि त्रिपालले ढाकिएको छ भने क्षति भएमा तुरुन्तै मर्मत टोली परिचालन गर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
विद्युतीय संरचनामा क्षति वा अवरोध देखिएमा सम्बन्धित वितरण केन्द्र, “नो लाइट” हेल्पडेस्क वा हटलाइन नम्बर ११५० मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ।






प्रतिक्रिया दिनुहोस्