Skip to content

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

nabil bank

तेह्रथुम । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ ।

ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन्।

पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो ।

सोमबार दिउँसो तेह्रथुमको म्याङ्लुङ बसपार्कमा भेटिनुभएकी काठमाडौँकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङ्लुङ आइपुगेको बताए । उनले म्याङलुङबाट बसन्तपुर–हिले–धनकुटा–धरान हुँदै काठमाडौं फर्किने बताए।

पाँचथर याङवरकका राजकुमार सेलिङले पनि बैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए। पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुबिधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौँ फर्किनेका लागि वैकल्पिकमार्गले सहज भएको छ ।

म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । जिल्लाप्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार २०० को हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालिगुँरास नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै सडक पक्की छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप–२ स्थित खोरङ्वा–यावरा १० किलोमिटर कच्ची सडक छ ।

सवारीसाधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको पनि मर्मत गरेको छ । तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेकाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने दु्रतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माइखोलालगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime