काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिँदा सेवाग्राहीले थप कष्ट भोग्नु पर्ने भएको छ ।
मालपोत कार्यालय कलंकीकाे कार्यालयमा आगजनी हुँदा त्भयहाँ भएका अभिलेखहरु सबै जलेर नष्ट भए, जग्गाको अभिलेख रहेको ढड्डा जलेको जनाएको छ। सबै जलेपछि जग्गाको श्रेस्ता कायम गर्न मालपोत कार्यालय कलंकीले विभिन्न ११ थरी कागजात ल्याउन जग्गा धनीलाई आग्रह गरेको छ ।
कार्यालयका अनुसार सबै सामग्री जलेपछि अहिले दैनिक सेवा प्रवाह बन्द भएको र मागेको विवरणसहित जग्गाधनी स्वयम उपस्थित भएपछि श्रेस्ता तयार हुने र काम सुरु हुने जनाएको छ ।
मंगलबार कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ‘ गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनको क्रममा यस कार्यालयमा तोडफोड तथा आगजनी भई भौतिक संरचना लगाएत कार्यालयमा रहेको अभिलेखहरू जलेर नष्ट भएको हुँदा दैनिक सेवा प्रवाह बन्द रहेकोले सेवा प्रवाह पुनः सञ्चालन गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका २०६१ को दफा २१ अनुसार देहायको कागज प्रमाणसहित निवेदन पेश गर्नुपर्ने छ ।’
कार्यालयका अनुसार श्रेस्ता कायम गर्न जग्गाधनीले नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानिय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस ल्याउनुपर्ने छ ।
जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गा प्राप्तिको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद चाहिने छ ।
यस्तै, जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमती पत्र र अन्य प्रमाणहरू चाहिने जनाएको छ ।
जेनजी आन्दोलनमा कलंकी मात्रै नभएर आंशिक तथा पूर्णरुपमा देशभरका २२ वटा मालपोटमा क्षति भएको छ । २२ मध्ये १० वटा मालपोतमा भने पूर्ण क्षति भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता खिमानन्द आचार्यका अनुसार जेनजी आन्दोलनमा कलंकीका साथै भरतपुर, कास्की, तुल्सीपुर, बाँके, घोराही, नेपालगञ्ज, धनगढी, मोरङ, बुटवलका मालपोत कार्यालयमा धेरै क्षति भएको छ ।
यस्तै खैरहनी, डडेलधुरा, लहान, सिराह लगायतका मालपोतमा आंशिक क्षति भएको आचार्यले बताए । उनका अनुसार कलंकी, कास्की, भरतपुर लगायतका केही मालपोत कार्यालय अझैसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । भएका सबै कागजात ध्वस्त भएपनि जग्गाधनीले ल्याउने विवरण हेरेर कार्यालयहरुले क्रमैैसँग काम गर्दै जाने छन् ।
आन्दोलनमा ध्वस्त भएका कार्यालयहरुले श्रेस्ता कायम गर्न अधिकांशमा ११ थरी कागजात चाहिने उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्