काठमाडौं । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यही असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो र बाढीमा परी पूर्वी पहाडी जिल्ला इलाममा ३९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सोही घटनामा परी एक जना बेपत्ता र २६ घाइते भएका थिए । बाढी र पहिरोबाट इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्