काठमाडौं । मधेस प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका पूर्व राज्यमन्त्री सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले १६ जना विरुद्ध १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ माग दाबी गरेको छ ।
सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा राखेर हिनामिना गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सिंहका साथै धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी, अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्विकृती देवी, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वे, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारी विरुद्द मुद्दा दायर गरिएको छ ।
यस्तै देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र कुमार झा, रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु कुमार मण्डल, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा।वि। हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जु देवी पासमान विरुद्द मुद्दा दायर गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्