काठमाडौं । छठ पर्वको तयारी भइरहेको छ । तराईमा मात्रै मनाइने छठ पर्व आजभोलि राजधानीमै बाक्लिँदै गएको छ ।
स्वदेशमा मात्रै होइन, विदेशी भूमिमा छरिएर बस्नेका लागि छठ पर्वको उत्तिकै रौनक छाएको देखिन्छ । आस्था, विश्वास र सद्भावको पर्वका रूपमा मनाइने छठ पर्व आगामी सोमबार देशभर मनाइने तयारी भइरहेको छ । छठ पर्वलाई लक्षित गर्दै गाउँघर, टोलतिरका पोखरी तथा नदीहरूको सरसफाइको काम सुरु हुन थालेको छ । उपत्यकामा छठ पर्व मनाउने तयारीका साथ बागमती नदीलाई सरसफाइ गर्ने गरिन्छ ।
यसैगरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाउने तयारी गरिरहेको छ । बागमती नदीको पानीको बहाव बढाउन र ब्रतालुलाई स्नानका लागि सहज होस् भनेर आयोजनाले ड्याममा जम्मा भएको पानी नदीमा छोड्ने तयारी गरेको हो ।
उपआयोजना निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आइतबार मध्याह्नदेखि नै पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, त्यसर्थ हामीले अघिल्लो दिनबाटै पानी छोड्ने तयारी गरेका हौँ”, उनले भने, “विशेष दिनहरूमा हामीले ड्यामको पानी बागमतीमा छाड्दै आएका छौँ ।”
समितिले बागमती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी छठ पर्वका दुई दिनसम्म छाड्ने तयारी गरिरहेको छ । “यसरी पानी छाड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ र ब्रतालुलाई नदीमा स्नान गर्न र अघ्र्य चढाउन सहज हुने छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पानी छाड्नका लागि आग्रह गर्नेछौँ ।”






प्रतिक्रिया दिनुहोस्