Skip to content

रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री

nabil bank

 

रुकुमपश्चिम । व्यावसायिक रूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए। गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट १ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन । 

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउका लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल ४ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँका दरले बिक्री  गरेकोे खड्काले बताए । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए । 

विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए। अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल ४ हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल ८ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।

जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए। उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् ।

 गत वर्ष प्रतिक्विन्टल २ हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल रु पाँच हजारदेखि ८ हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् । जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।

यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा  ८ करोड ८० लाख रुपैयाँ आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ । अदुवा उत्पादनबाट रु ४० हजारदेखि रु पाँच लाखसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए। अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए।

सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् । ‘गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । 

यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्’, उनले भने । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ ।

अदुवा लगाएको निश्चित समय नपुग्दै साउनको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बीउ) निकाल्नुपर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको उक्त कार्यालयको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi