काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैको सुझाबको आधारमा बिमा सूचना केन्द्र स्थापना हुने बताएका छन् । प्राधिकरणले बिमा सूचना केन्द्रसम्बन्धी छलफल एवम् अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले सबैको सुझाबको आधारमा केन्द्र स्थापना गरिने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले बिमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुुरु भएको र सुझाव संकलनलाई सघनताका साथ अगाडि बढाइने बताए । ‘नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बीमा सूचना केन्द्र स्थापनाका लागि सुझावहरू संकलन गर्न शुरु गरिएको छ, केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बिमा बजार र नागरिकलाई फाइदा पुग्नेछ,’ उनले भने ।
केन्द्रले सम्बोधन गर्नुपर्ने क्षेत्र, केन्द्रित हुनुपर्ने विषय र सरकारी निकायहरुसँगको आवद्धता लगायतका विषयमा कार्यक्रमबाट ठोस सुझावहरू प्राप्त हुने अपेक्षा गरिएको सिलवालको भनाइ थियो । ‘कार्यक्रमहरूबाट प्राप्त हुने सुझावहरूका आधारमा केन्द्रको स्थापनाको कार्य अगाडि बढाइनेछ, विपद् व्यवस्थापनलाई समेत अङ्गकै रुपमा लिइनेछ, स्वदेशी विज्ञलाई प्रोत्साहित गरिनेछ,’ अध्यक्ष सिलवालले भने ।
नेपाल बिमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिल देव ओलीले बिमा सूचना केन्द्रको स्थापनाबाट बिमासम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बिमाका समग्र गतिविधिलाई सक्रियरूपले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जोखिम र बिमा एउटै सिक्काका दुई पाटा भएकाले बिमा सूचना केन्द्र स्थापना गर्दा जोखिमको पाटोलाई पनि सँगसँगै लैजानुपर्ने बताए
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बिमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । त्यस्तै प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा सूचना केन्द्रको प्रारम्भिक खाका प्रस्तुत गर्दै बिमामा हुने बदमासी, जालसाजी, कीर्ते र दोहोपनालाई नियन्त्रण गर्न केन्द्रको स्थापना आवश्यक भएको बताए । त्यस्तै प्राधिकरणका अर्का निर्देशक दिनेशकुमार लालले सरकारबाट बिमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएपछि बिमा सूचना केन्द्र स्थापनाको कार्य अगाडि बढाउन प्रारम्भिक खाका तयार गरी सुझावहरू संकन गर्न सुुरु गरिएको बताए ।
कार्यक्रममा सहभागीहरूले स्थापना हुनलागेको बिमा सूचना केन्द्रमा अनलाइन माध्यमबाट सूचना संकलन गर्ने र बिमकहरूका सूचनालाई एकीकृत गर्ने व्यवस्था हुनुपर्ने, सूचना प्रमाणीकरणका लागि प्राविधिक समितिको व्यवस्था गर्नुपर्ने, सरकारी सूचना प्रणालीसँग आवद्ध गर्नुपर्ने, मुलुकको संघीय संरचना अनुरुपको हुनुपर्ने, सूचनाको दायरा निक्र्यौल गर्नुपर्ने, बीमामा सुशासन, ग्राहक पहिचान र सूचना प्रविधिको प्रयोगलाई समेट्नुपर्ने लगायतका सुझावहरू दिएका छन् ।
प्राधिकरणले बिमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बिमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा सुझाब संकलनका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । बिमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बिमक, पेशागत बिमा अभिकर्ता संघ र नेपाल बिमा सर्भेयर संघबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्