Skip to content
Prabhu

बेनी नगरपालिकाका किसान दूध बिक्री गरेर आत्मनिर्भर बन्दै, वर्षमा ९० लाखको दूध बिक्री

म्याग्दी । बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैंसी पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैंसीको दूध बिक्रीबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनको छ । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैंसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।

‘‘ गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’ किसान थापाले भने । बेनी– ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ ।

ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैंसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् । सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिए । किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताए ।

सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन् । बिहान र बेलुकाको समयमा सहकारीको दूध सङ्कलन केन्द्रमा दूध ल्याएर आउने किसानको चहलपहल हुने गर्छ । सहकारीले दूधको फ्याट र एसएनएफ ‘मिल्क एनालाइजर मेसिन’मा परीक्षण गरेर दूधको मूल्य निर्धारण गर्दै आएको छ ।’
मेसिनले दिने दूधको फ्याट र एसएनएफको मात्राको आधारमा किसानलाई मूल्य दिने गरेका छौं, सरदरमा सिकानले प्रतिलिटर १०० रुपैयाँ पाउँछन, एक लिटरदेखि १० लिटरसम्म दूध बिक्री गर्ने किसान हुनुहुन्छ’ प्रबन्धक शर्माले भने ।

उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन् । चार सयजना सेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब ९ लाख रुपैयाँको दूध बिक्री गर्दै आएको छ । हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ ।

गत आर्थिक वर्षमा सहकारीले ९० लाख रुपैयाँ बराबरको दूध बिक्री गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा आवश्यकपर्ने दूधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दूधको मात्रै वार्षिक १ करोड ५० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित सहकारीले दूध सङ्कलनको क्षमता विस्तार र किसानलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताए ।

‘‘ हामीले किसानलाई बचत तथा ऋणको कारोबार सेवा पनि दिएका छौँ, बिहानबेलुका दूध सङ्कलन र वितरण गर्छौं, किसानको उत्पादनसँग जोडिएकाले सहकारीको आर्थिक पाटो पनि सकरात्मक छ, बजारमा दूधको मूल्यमा आउने उतार–चढाबले कहिलेकाहीँ समस्या पर्छ’ अध्यक्ष पौडेलले भने ।

दूध बिक्री गर्न ल्याउने किसानलाई मासिक रुपमा सहकारीमै रहेको खातामा पैसा जम्मा गरिदिने र किसानले आवश्यक परेको समयमा झिकेर लैजाने प्रबन्ध मिलाइएको छ । यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दूधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासँगको सहकार्यमा ९ प्रतिशत ब्याजदरको सस्तो ऋणसमेत प्रवाह गर्दै आएको जनाएको छ । सिङगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटरसमेत निर्माण गरेको छ ।

छजना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसँगै दूध सङ्कलन र वितरण तथा कृषि पेसा अगालेका शेयर सदस्यलाई तरकारी तथा फलफूलका बिरुवा वितरणको कामसमेत गर्दै आएको छ । सिंगासँगै सोही वडाको बास्कुना गाउँमासमेत बास्कुना कृषि सहकारीमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । यहाँका ५० जना किसान आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक दुई सय ५० लिटर दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।

उनका अनुसार, दूध बिक्री गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक ६ लाख रुपैयाँ नगद भित्रने गरेको छ । वडा नं ४ का सिङगा, राक्से, तातोपानी, सोता, बास्कुनालगायतका टोलमा करिब एक सय घरधुरीले भैँसीपालन गरेर दूध बिक्री गर्दै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताए। सिङ्गा र बास्कुनामा कृषि सहकारीले दूध सङ्कलन र वितरण गर्दै आएका छन् भने तातोपानीमा किसान आफैंले दूध बिक्री गर्दै आएका छन् ।

दूध उत्पादनको पकेटक्षेत्र बनेको यस वडामा वडा कार्यालयले किसानलाई तालिम र अनुदानमा राँगो वितरण गरेको छ । यसवर्ष भैंसीपालक किसानलाई पाँचवटा उन्नत जात र स्थानीय जातको राँगो अनुदानमा वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए।

‘‘ पशुपालन र कृषि दुबैमा सम्भावना छ, उत्पादन भएका उपजको बजारीकरणमा पनि समस्या छैन, कृषि र पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन प्रोत्साहनका कार्यक्रममा हामीले पहल गरेका छौँ’, वडा अध्यक्ष खड्काले भने, ‘सदरमुकाम बेनीमा दूध आपूर्ति गर्नेमध्येमा सिङ्गाले ठूलो हिस्सा ओगट्ने गरेको छ ।

बेनी–दरबाङ सडकखण्डले समेटिएको यस वडाबाट सदरमुकाम बेनीबजार जोड्ने मुख्य सडक कालोपत्र भएपछि किसानले उत्पादन गरेको दूधजन्य र कृषिजन्य उत्पादनको बजारीकरणमा सहज भएको छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal