Skip to content
Prabhu

धितोपत्र बोर्डका अध्यक्ष बन्न आइतबार अन्तर्वार्ता हुने, ओलीले हटाउने भएपछि अर्थमन्त्री झुके

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दवाव र अडान विपरित चलेका अर्थमन्त्री वर्षमान पुन परिवर्तन भएका छन् ।

धितोपत्र बोर्डमा अध्यक्ष ओलीले सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्न दवाव दिएका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले सर्टलिष्टमा परेका ५ जनालाई आइतबारको लागि अन्तर्वार्ताको लागि बोलाएको छ । छनोट समितिले सर्टलिष्टमा परेका ५ जनालाई उनीहरुको व्यवसायिक योजना र अन्तवार्ता लिएपछि ३ जनाको नाम अर्थमन्त्रालयमा पठाउने छ । ३ जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा पेश गर्ने र त्यसबाट १ जनालाई मन्त्रिपरिषदले नियुक्त गर्ने छ ।

धितोपत्र बोर्डको अध्यक्ष बन्नको लागि बोर्डका दुईजना कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र नवराज अधिकारी,बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ,नेप्सेका सीईओ कृष्ण कार्की र सन्तोषनारायण श्रेष्ठ सर्टलिष्टमा परेका छन्।

सन्तोषनारायण श्रेष्ठलाई इन्फिनिटीका दिपक भट्ट सहितको उनको समूहको समर्थन छ ।

कर्पोरेट लडाईमा राजनीतिक दलका प्रमुख नेताले साथ दिएको कारण बोर्ड अध्यक्षको नियुक्ति हुन सकेको थिएन । तर,नेकपा एमालेका अध्यक्ष केपी ओलीको कडा अडानको कारण सरकारको नेतृत्व गरिरहेको माओवादी र अर्थमन्त्री झुकेका हुन् ।

भट्टसँग नजिक रहेका सन्तोषनारायण श्रेष्ठलाई नबनाउने भन्दै बसेका थिए । तर,ओलीको कडा अडानको कारण सन्तोषनारायणको नियुक्ति करिब पक्कापक्की जस्तै भएको स्रोतको दाबी छ ।

आइतबार हुने अन्तर्वार्ता औपचारिक प्रक्रिया पुरा गर्नको लागि मात्र हुने छ । त्यसपछि त्यही सिफारिसको आधारमा बस्ने मन्त्रिपरिषदको बैठकले अध्यक्ष पद नियुक्ति गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal