Skip to content
Prabhu

सर्लाहीमा १ हजार ४३५ नयाँ उद्योग थपिए, ३९२ बन्द

सर्लाही । सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा उद्योगतर्फ ६ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो । उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख संजीपकुमार दुब्बेले जानकारी दिए ।

उहाँकानुसार गत आर्थिक वर्षमा जिल्लामा कृषि तथा वनजन्य तीन सय पाँच, सेवामूलक दुई सय, उत्पादनमूलक एक सय ३९, पर्यटनमूलक र निर्माणमूलक आठ–आठ उद्योग दर्ता भएको छ । जिल्लामा व्यावसायिक कृषिका लागि धेरै फार्म दर्ता हुने गरेका उनले जानकारी दिए।

यस्तै गत आवमा तीन सय ९१ उद्योगको लगतकट्टा भएको छ । लगतकट्टा भएकामध्ये धेरै कृषि उद्योगअन्तर्गत छन् । यसैगरी उद्योग प्रशासनतर्फ एक सय ४९ वटा र वाणिज्य प्रशासनतर्फको दुई सय ४२ वटा उद्योग बन्द गरिएको हो । ‘’धेरै बन्द गरिएकामा कृषि उद्योगका फार्म छन्’, उद्योग अधिकृत दुब्बेले भने, ‘‘कृषि अनुदानअन्तर्गत कार्यक्रम सञ्चालनका लागि खोलिएका उद्योग धेरैको लगतकट्टा गरिएको छ ।’

यस्तै गत वर्ष उद्योग प्रशासनतर्फका आठ सय ८७ उद्योग र वाणिज्यतर्फका एक हजार पाँच सय नौवटा उद्योग नवीकरण भएका कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम भने वृद्धि हुँदै गएको छ ।

गत वर्ष छ सय ६० फर्म दर्ता हुँदा तीन सय ५७ वटा महिला र तीन सय चारवटा पुरुषका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता रहने साना उद्योगमा छुट व्यवस्था लागू भएका कारण दर्ता अनुपात बढेको पाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal