Skip to content
Prabhu

साउन महिनामा १८ अर्ब ७१ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा साढे १८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा डिजेल, पेट्रोल, एलपी ग्यास र हवाइ इन्धन आयतका लागि १८ अर्ब ७१ करोड ४ लाख रुपैयाँको खर्च भएको हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा भने नेपालले यस्तो पदार्थको आयतका लागि १७ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खर्चेको थियो । विभागको तथ्यांकअनुसार साउनमा ६ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको डिजेल आयात भएको छ ।

यो अवधिमा नेपालले ७२ हजार ५२ किलोलिटर डिजेल आयात गरेका छ । गत आवको सोही अवधिमा भने ७ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको थियो ।

त्यस्तै विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५ ६९ करोड ३५ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । यो अवधिमा नेपालले ५९ हजार ६४४ किलोलिटर पेट्रोल आयात भएको छ ।

साउन महिनामा ४ करोड ५७ लाख ३६ हजार ९०७ केजी खाना पकाउने एलपी ग्यास आयातमा ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ । विभागको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा १ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरको १२ हजार ४७२ किलो लिटर हवाई इन्धन आयात भएको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा समग्र वस्तुको आयात निर्यात दुवैमा कमी आएको छ । साउनमा आयात ०.६७ प्रतिशतले घटेर १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको भएको छ ।

गत वर्ष सो अवधिमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको निर्यात भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal