Skip to content
Prabhu

चिनियाँ ब्राण्डसँग प्रतिस्पर्धा  गर्न नसक्दा कारखाना बन्द गर्दै भोल्क्सवागन, ७ लाखको  जागिर जोखिममा

एजेन्सी । चिनियाँ विद्युतीय सवारीसँग प्रतिस्पर्धाका लागि खर्च कटौती गर्नका लागि भोल्क्सवागनले जर्मनीमा रहेको आफ्नो कारखाना बन्द गर्न सक्ने बताएको छ । ८७ वर्षको इतिहासमा जर्मनीमा पहिलो पटक कारखाना  बन्द गर्ने विकल्पमा विचार गरिरहेको उसको भनाइ छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा, जर्मन अटोमोबाइल निर्माताले आफ्नो घरेलु देशमा कारखाना बन्द गर्ने विषय सार्वजनिक गरेको हो । कम्पनीलाई दीर्घकालीन रूपमा सुरक्षित राख्नका लागि अन्य उपायहरूमा सन् १९९४ देखि लागू रहेको श्रमिक संरक्षण सम्झौता अन्त्य गर्ने प्रयास पनि समावेश रहेको बताइएको छ ।
भोल्क्सवागन समूहका सीईओ ओलिभर ब्लुमेले भने, “युरोपको अटोमोबाइल उद्योग अहिले निकै चुनौतीपूर्ण र गम्भीर अवस्थामा छ । आर्थिक वातावरण अझै कठिन भएको छ र नयाँ प्रतिस्पर्धीहरू युरोपेली बजारमा प्रवेश गरिरहेका छन् । विशेष गरी जर्मनी उत्पादन स्थलको रूपमा प्रतिस्पर्धात्मकतामा पछि पर्दै गएको छ ।”
भोल्क्सवागनले गत वर्षको अन्त्यमा १० अर्ब यूरो खर्च कटौती गर्ने अभियान सुरु गरेको थियो । कम्पनीले ठूलो बजार रहेको चीनमा आफ्नो हिस्सा कम हुँदै गएको पनि उल्लेख गरेको छ । सन् २०२४ को पहिलो छ महिनामा कार सप्लाइ सन् २०२३ को सोही अवधिको तुलनामा सात प्रतिशतले घटेको छ । जसले कम्पनीको सञ्चालन नाफा ११.४ प्रतिशतले घटेको जनाएको छ ।
चीनमा बजार हिस्सा घट्को कारण चिनियाँ विद्युतीय सवारी ब्रान्डहरू, विशेष गरी  बीवाईडीसँग प्रतिस्पर्धा गर्न नसक्नु रहेको जनाइएको छ । चिनियाँ विद्युतीय सवारीले पछिल्लो समय युरोपको अटोमोबाइल बजारमा विशेष गरी भोल्क्सवागनलाई चुनौती दिएको छ ।
कम्पनीले खर्च कटौतीलाई पछिल्लो समय प्रमुख आधार बनाएको छ । भोल्क्सवागनको खर्च कटौती योजनाले श्रमिक प्रतिनिधिहरूको कडा प्रतिरोधको सामना गर्नुपर्नेछ । श्रमिकहरुले अनुगमन बोर्डमा करिब आधा हिस्सा ओगट्छन् ।
भोल्क्सवागनले विश्वभरि लगभग ६ लाख ८३, हजार श्रमिकहरूलाई रोजगार दिएको छ, जसमा लगभग २ लाख ९५ हजार जर्मनीमा कार्यरत छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal