Skip to content
Prabhu

आठ वर्षमा नसकिएको काम एक महिनामा सक्न मन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । फूल र फलफूलको बिक्री वितरणलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो ।

कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री वितरण सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ । विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कूल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन विसं २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको जनाइएको छ । हालसम्म आयोजनाको म्याद ११ पटक म्याद थप गरिएको छ ।

मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याबारे जानकारी गराएका थिए । ‘निर्माणस्थलको दक्षिण–पश्चिम कुनाबाट अनेक्षित ढङ्गबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन’, उनले भने । उनले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराए ।

त्यसअवसरमा सांसद राजेन्द्रकुमार केसीले निर्माण तत्काल सकेर बजार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खीरमानसिंह बस्नेतले केही स्थानीयले जग्गाको मुआब्जा नपाएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न आग्रह गरे । पाँच तले भवनमा करिब ७० वटा स्टल र दुई तले भवनमा ३० वटा स्टल रहनेछन् । साथै भवनमा समितिको कार्यालय, बैंक र सभाहल पनि हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal