Skip to content
Prabhu

चाडपर्व अघि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्रीको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित छलफलमा चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत उनले निर्देशन दिए । उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे ।

दशैं–तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ । चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने उनले बताए ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उनले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइनेसमेत बताए । सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरू बीच सहकार्यको खाँचो रहेको बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वनजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दुरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउनसमेत उनले जोड दिए ।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा. पार्थमणि पराजुली, सरोकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्‍लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत विभिन्न निकायका अधिकारीहरूको उपस्थिति थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal