काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र साइमेक्स इंक, बिवाइडीले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ३३ किलोवाटको डिसी फास्ट चार्जिङ स्टेसन निर्माण गरेको छ।
चार्जिङ स्टेसनको औपचारिक उद्घाटन केयुका उपकुलपति प्रा.डा भोला थापा र बिवाइडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले गरे।
बिवाइडीले चार्जिङ स्टेसनबाहेक अनुसन्धान र शिक्षण गतिविधिहरूको लागि इलेक्ट्रिक सवारी साधनहरूको कम्पोनेन्टहरू प्रदान गरेको छ।
यी कम्पोनेन्टहरू केयुमा प्रयोगशालाको सेटअपमा महत्त्वपूर्ण हुनेछन्। विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक इभी प्रविधिहरूसँग प्रत्यक्ष रूपमा सहभागी हुने सहयोग मिल्नेछ।
‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो, र यस प्रकारको साझेदारी मार्फत हामी विश्वको वातावरण मैत्री सवारी साधनहरूमा संक्रमणको गति बढाउने लक्ष्य राख्छौं,’ लिउ जुलियाङले भने।
उनले बिवाइडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको बताए।
यस सहकार्यको फलस्वरूप केयुले बिवाइडीको उद्योग, ज्ञान र अनुभवबाट धेरै लाभान्वित हुने अपेक्षा गरिएको छ।
चार्जिङ स्टेसन निर्माणले विद्यार्थी, अनुसन्धानकर्ता र संकाय सदस्यहरूले बढ्दो इलेक्ट्रिक सवारी साधनको बजारमा वास्तविक जीवन सिकाउने अनुभव पाउनेछन्।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भने, ‘बिवाइडीसँगको यो साझेदारी हाम्रो शैक्षिक पाठ्यक्रममा दिगो ऊर्जा समाधानहरू समावेश गर्ने दिशामा एक प्रमुख कदम हो। यसले हाम्रा विद्यार्थीहरूलाई नेपालमा हरित प्रविधिको भविष्यमा योगदान दिन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्ने छ।’












प्रतिक्रिया दिनुहोस्