काठमाडौं । नेपाललाई व्यवसायको लागत घटाउन भारतीय पूर्वराजदूत मन्जिवसिंह पुरीले सुझाव दिएका छन् ।
नेपाल भारत उद्योग वाणिज्य संघको साधारणसभामा विशेष वक्ताको रुपमा नेपाल आएका पुरीले नेपालमा भारतीय लगानीमा डाबर,युनिलिभर तथा सुर्य नेपाल सफल भएपनि अहिले भारतीय लगानीकर्ताको प्राथमिकता दुबई हुँदै दक्षिण अमेरिका र अफ्रिकासँग फैलिएको बताए ।
“नेपालले व्यवसाय गर्नको लागि लागत घटाउने विषयमा काम गर्नुपर्ने छ,”पुरीले भने,“पछिल्लो समय भारतमा सफल भएका कम्पनीलाई नेपालमा आकर्षित गर्नको लागि व्यवसायको लागत नेपालले घटाउनैपर्छ।” भारतमा सफल भएका पछिल्ला कम्पनीहरुको प्राथमिकता नेपाल परेको छैन त्यो नेपालले नै सोच्ने विषय भएको टिप्पणी पुरीको थियो ।
उनले नेपाल सरकारलाई लगानीको लागि नयाँ दिल्लीमा मात्र भर नपरेर भारतका अन्य ठूला सहरहरु बैंकलोर,हैदरावाद लगायतका सहरमा समेत लगानीकर्ताको लागि सम्भावना खोज्न समेत सुझाव दिए । लगानीकर्ता आकर्षित गर्नको लागि नेपालले नीतिहरुमा परिवर्तन गर्नुपर्ने सुझाव उनको थियो ।
भारत अहिले विश्वको पाचौं ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो बजार हो यसको कसरी फाइदा लिने भन्नेमा नेपालले सोच्नुपर्ने पुरीले बताए । भारत आफैंमा लगानीको लागि पुँजीको अभाव भएको देश भएको भन्दै लगानीकर्तालाई आकर्षित गर्ने नीति नेपाल आफैंले लिनुपर्ने बताए ।
नेपाल भारत उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन आएका पुरीले पहिलो पटक आफूले काठमाडौंलाई क्लिन देखेको टिप्पणी गरे । उनले नेपालको पर्यटन विस्तारको भारतीय पर्यटकको ठूलो भूमिका भएको भन्दै यसलाई आकर्षित गर्न सुझाव दिए । उनले नेपाल शैक्षिक क्षेत्रलाई अबको लगानी आकर्षित गर्ने नयाँ क्षेत्रको रुपमा विकास गर्न सक्ने भन्दै केही भारतीय शैक्षिक कम्पनीहरुले बजार देखिरहेको बताए ।
नेपालीहरुको भारतमा लगानी भएपनि बिनोद चौधरी बाहेक हरुले यसलाई खुलस्त नभनेको भन्दै धेरै नेपालीले भारतमा गर्ने लगानीलाई गोप्य राख्न चाहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्