Skip to content

निरन्जन कुँवर जेनेस सलुशनको प्रमुख प्रविधि तथा प्रमुख सूचना सुरक्षा अधिकृत नियुक्त

nabil
global ime

काठमाडौं । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन् ।

द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेशन्सबाट रेडियो कम्युनिकेशन्समा समेत एमएससी गरेका कुँवरले अमेरिकास्थित द क्वांटीक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन् । यसैगरी उनले सूचना प्रणाली तथा साइबर सेक्युरिटी सम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरु पनि प्राप्त गरेका छन् ।

जेनेस सलुशनसंग आबद्ध हुनु भन्दा पहिले कुँवर सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएर, मा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रुपमा काम गरेका थिए। त्यस्तै उनले म्याकएफी, पोलिकम, माइमकाष्ट, रिलायन्स ग्लोबलकम, शिपसर्भ, हिमालयन कम्प्युटर्स लगायतका कम्पनीहरुमा काम गरेका थिए ।

पोखरामा जन्मिएर पोखरामै पढेका निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा ६ वर्ष तथा हंगकंगमा ८ वर्ष बिताएका थिए । ‘म विश्वका प्रमुख कम्पनीहरुमा २५ वर्ष सम्म काम गरेको आफ्नो अनुभवको उपयोग गर्दै अर्थपूर्ण काम गर्न खोजीरहेको थिएँ । खास गरी आफ्नो मातृभूमिको लागि योगदान गर्ने तथा नेपालमा सूचना प्रविधिका सम्भावनाहरुको उपयोग गर्दै ठूलो समुदायका लागि सम्पत्ति र समृद्धिका अवसरहरु सिर्जना गर्ने उपयुक्त माध्यम के हुन सक्छ भन्ने बारे मैले सोचविचार गरिरहेको थिएँ । यसै बेला मेरो अन्जनीजीसंग भेट भयो । नेपाल लगायत विभिन्न मुलुकमा नव प्रवर्तनमा आधारित प्राविधिक समाधानहरु सहित स्थानीय कम्पनीहरुलाई सघाउन जेनेस सलुशनले गरीरहेका कामहरुबारे उहाँले बताउँनु भयो । साइबर सेक्युरिटी, क्लाउड, कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिंग आदि क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सेवा दिन जेनेस सलुशनले गरिरहेका कामहरुलाई अर्को उंचाइमा पुराउन हामीले सहकार्य गर्ने निधो गर्‍यौं,’ उनले भने ।

निरन्जन कुँवरलाई जेनेस सलुशनको ग्लोबल टिममा स्वागत गर्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले बताए । ‘जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) को रुपमा निरन्जन कुँवरलाई स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौं । सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका निरंजनजीको अनुभव जेनेस सलुशनको वृद्धि र सफलता तथा ग्लोबल टिमका लागि समेत निकै महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

गएको १७ वर्ष देखि बेलायतमा बसीरहेका निरन्जनकी श्रीमती र दुइ छोराछोरी छन् । नेपाली बाहेक अंग्रेजी, रुसी र हिन्दी भाषा बोल्ने निरन्जन एक धावक पनि हुन्। नियमित रुपमा योग र ध्यान गर्ने उनी सिनेमा हेर्न, पुस्तक पढ्न र यात्रा गर्न रुचाउँछन् । जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, युके, युएस लगायत विश्वका १० मुलुकहरुमा कार्यालय छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima