Skip to content

गड्डाचौकी नाका : चाडबाड मनाउन घर फर्कनेको भीड

कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ ।

दसैँको खर्च जोहो गरेर घरपरिवारसँग चाडबाड मनाउनका लागि स्वदेश फर्किन पाउँदा उहाँहरू खुसी व्यक्त गर्नुहुन्छ । दुई वर्षपछि दसैँ मनाउने क्रममा घर फर्कँदै गर्नुभएका बाजुराका हिरण्य गिरीले चाडबाडको समय घर फर्कन पाउँदा खुसी लागेको बताए ।

‘दुई वर्ष परिवारसँग दसैँतिहार मनाउन पाइनँ । यसपटक थोरै पैसा बचाएर चाडबाड मनाउन घर जाँदैछु’, गड्डाचौकी नाकामा भेटिएका गिरीले भने, ‘स्वदेशमा काम पाइँदैन, दसैँतिहार मनाएर फेरि भारततिर जान्छु ।’ स्वदेशमा गतिलोे आम्दानी गर्ने अवस्था भए भारत नजाने उनले बताए ।

गिरी विगत पाँच वर्षदेखि भारतको दिल्लीमा गाडी चलाउँदै आएका छन् । स्वदेशमा गतिलो कमाइ नभएपछि घरखर्च चलाउन भारत जानुपरेको उनले बताए ।

त्यस्तै सुर्खेतका हर्कबहादुर थापाले भारतको सिम्लामा काम गर्न थालेको दश वर्षभन्दा बढी भइसक्यो । उहाँ भारतमा स्याउ टिप्ने काम गर्छन् । हर्कबहादुरसँगै गाउँका अन्य पनि सिम्लामा स्याउँ टिप्ने काम गर्छन् । चाडबाड र खेतीपातीका लागि घर फर्किएको उनले बताए । ‘अरुबेला बाहिर गएर जति दुःख गरे पनि चाडबाडमा सधैं घर पुग्छु’, उनले भने, ‘घरपरिपारसँग चाडबाड मनाउन पाउँदा निकै खुसी लाग्छ ।’

चाडबाड सुरु भएसँगै गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको चाप बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । गड्डाचौकी नाका भएर दैनिक तीन–चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

भारतबाट आउने नेपाली नागरिकका लागि नाकामा सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सहायता कक्षमा भारतबाट आउनेलाई शुद्ध पिउने पानी र प्राथमिक स्वास्थ्योपचार गर्ने गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi