Skip to content

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

nabil
global ime

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताए । मन्त्री खड्काले आइएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउनुहुँदै उक्त पदमा विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले बुढीगण्डकी जलविद्युत् परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । आइएसएका कार्यक्रमलाई अगाडि बढाउन आइएसए र नेपालबीच चाँडै द्विदेशीय साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री खड्काको जोड थियो । भेटमा आइएसएका अध्यक्ष एवम् भारतीय समकक्षी जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन आइएसए कोषबाट आर्थिक सहयोग गरिने बताए ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंहलगायत नेपाली प्रतिनिधिमण्डलका साथै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima